उद्धारमा खटिएकालाई क्‍वारेन्टाइनमा सम्मान

मोहन शाही

डोटी — भारतमा अलपत्र परेकाको उद्धारमा खटिएकाहरुलाई क्‍वारेन्टाइनमा सम्मान गरिएको छ । केआईसिंह गाउँपालिका ७ स्थित लाटाकलारे आधारभूत विद्यालयको क्‍वारेन्टाइनमा बसेकाहरुले बिहीबार घर जानुअघि गाउँपालिका अध्यक्ष लोकेन्द्रबहादुर शाही, वडाध्यक्ष हर्क विष्ट, स्वास्थ्य संयोजक तिलबहादुर बोहरालगायतलाई दोसल्ला र अबिरमाला पहिर्‍याएर सम्मान गरेका हुन् ।

उद्धारमा खटिएकालाई क्‍वारेन्टाइनमा सम्मान

उनीहरुलाई भारतका विभिन्न सहरमा अलपत्र परेकाबेला केआईसिंह गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र पत्रकारहरुले भारतको पलियाबाट उद्धार गरी ल्याएका थिए ।

‘सबैभन्दा पहिले केआईसिंह गाउँपालिका नै हो जसले सुदूरपश्चिम गाउँवासीलाई सीमामै पुगी उद्धार गरेर ल्याएको थियो’, १८ औं दिनमा घर जान पाएपछि खुसी ब्यक्त गर्दै बिहीबार वीरबहादुर बेलालले भने, ‘दिनरात नभनी क्‍वारेन्टाइनमा हाम्रो व्यवस्था गर्न पनि खटिनुभयो, हामी हृदयबाटै खुसी भएर उहाँहरुको सम्मान गरिरहेका हौं ।’ उक्त क्‍वारेन्टाइनबाट बिहीबार ६७ जना घर फर्केका थिए । उनीहरुको जेठ १९ गते नमुनाका रुपमा परीक्षण गरिएको पीसीआर र सबैको आरडीटीको नतिजा नेगेटिभ आएपछि गाउँपालिकाले १८ औं दिनमा क्‍वारेन्टाइनबाट घर पठाएको हो । गाउँपालिका अध्यक्ष लोकेन्द्र शाहीले अलपत्र परेका जनताको उद्धार गर्नु जनप्रतिनिधिहरुको दायित्व भएको बताए । आफूहरुलाई गरेको सम्मानले लामो समयदेखिको तनाव र थकाई हराएको भन्दै अध्यक्ष शाहीले खुसी व्यक्त गरे । केआईसिंह गाउँपालिकामा अहिलेसम्म १ हजार ५०२ जना भारतबाट फर्किएका छन् ।

प्रकाशित : जेष्ठ २९, २०७७ १९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?