१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

सुदूरपश्चिममा संक्रमित थपिए, स्रोतसाधन थपिएनन्

बेड भरिन थालेपछि सेती अस्पतालले गम्भीर अवस्थाकालाई मात्र रिफर गर्न स्थानीय तहलाई भनेको छ । महाकाली अस्पतालले पनि थप बिरामी आए मौजुदा जनशक्ति र स्रोतसाधनले नभ्याउने जनाएको छ ।

कञ्चनपुर/धनगढी — कोरोना संक्रमितको संख्या बढेसँगै महेन्द्रनगरस्थित महाकाली अस्पतालमा बिरामीको चाप बढेको छ । ५ आइसोलेसन बेडबाट उपचार सुरु भएको अस्पतालमा मंगलबारसम्म २४ संक्रमित भर्ना भइसके ।

सुदूरपश्चिममा संक्रमित थपिए, स्रोतसाधन थपिएनन्

यो संख्या यसरी नै बढ्दै गए अस्पतालको जनशक्ति र स्रोतसाधनले धान्न सक्ने देखिँदैन । ‘हामीसँग न पर्याप्त स्रोतसाधन छ न त जनशक्ति,’ मेडिकल सुपरिटेन्डेन्ट डा. हरि श्रेष्ठले भने, ‘प्रदेश सरकारसँग निरन्तर रूपमा स्रोतसाधन र जनशक्ति माग गरिरहेका छौं ।’

विशेषज्ञसहित २९ चिकित्सकको दरबन्दी रहेको अस्पतालमा अहिले विकास समिति, चिकित्सा परिचालन समितिलगायतका गरी १० चिकित्सक कार्यरत छन् । अहिले ६ नर्स र १ चिकित्सक गरी ७ जनाको सिफ्ट बनाएर संक्रमित बिरामीको उपचार भइरहेको छ । ‘अब बिरामी बढी हुँदै गए यसरी काम गर्न सकिँदैन, नर्सदेखि डाक्टर सबै थप गर्नुपर्ने हुन्छ,’ श्रेष्ठले भने । उनका अनुसार संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीका लागि पर्याप्त पीपीई सेट, मास्क तथा अन्य स्वास्थ्य सामग्री पनि छैनन् ।

महाकाली अस्पतालअन्तर्गत वैशाख पहिलो सातादेखि निर्माण थालिएको ५० बेडको छुट्टै कोरोना अस्पताल अझै तयार भइसकेको छैन । अहिले संक्रमितहरूलाई पोषण पुनःस्थापना गृह र वार्डहरूमा राखिएको छ । अस्पताल तयार भइहाले पनि त्यसलाई आवश्यक जनशक्ति र स्रोतसाधन भने छैन ।

श्वासप्रश्वासलगायत गम्भीर समस्या देखिएकालाई राख्न भेन्टिलेटरसमेत छैन । चैत अन्तिम साता किनिएको भेन्टिलेटर पुरानो र खिया लागेको आएपछि ठेक्का प्रक्रिया रद्द गरेर पुनः खरिद सुरु गरिएको छ । ‘असार पहिलो सातासम्म भेन्टिलेटर खरिद भइसक्छ, त्यसपछि केही सहज हुनेछ,’ डा. श्रेष्ठले भने, ‘तत्काल गम्भीर समस्या देखिएकालाई धनगढी रिफर गर्नुबाहेक विकल्प छैन ।’


महाकाली अस्पतालमा भर्ना भएका सबै बिरामीको अवस्था हालसम्म सामान्य रहेको उपचारमा संलग्न डा. सरोज आचार्यले बताए । ‘अहिले नै पनि बिरामीको उपचार गर्न समस्या आइसकेको छ,’ उनले भने, ‘कुनैमा गम्भीर समस्या देखिए के गर्ने भन्ने विकल्प छैन ।’ बिरामी बढ्दै गए अहिलेकै जनशक्तिले उपचार सम्भव नहुने आचार्यले बताए ।

अर्कातिर कोभिड–१९ का बिरामीको रिफर सेन्टरका रूपमा रहेको धनगढीस्थित सेती प्रादेशिक अस्पतालकै हालत पनि उस्तै छ । ठाउँ अभाव भएपछि अस्पतालले विशेषज्ञ सेवा दिनुपर्नेबाहेकका संक्रमित रिफर नगर्न जिल्ला तथा स्थानीय तहलाई निर्देशन दिइसकेको छ ।

एकदमै जटिल अवस्थाका संक्रमितलाई बाहेक अन्यलाई भर्ना लिन सकिने जनशक्ति र स्रोतसाधन नरहेको मेसु डा. हेमराज पाण्डेयले बताए । ‘तर जिल्ला र स्थानीय तहले कोरोना संक्रमितलाई सिधै सेतीमा रिफर गरिदिन लागे,’ उनले भने, ‘यस्तो अवस्थामा अस्पतालमा ठाउँ अभाव हुने भएको छ ।’

प्रदेश सरकारको सहयोगमा अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि ५० बेड तयार पारिएको छ । अहिले ३४ जना भर्ना छन् । बाँकी १६ सिट लक्षण नदेखिएकालाई डिस्चार्ज गरेर खाली गरिएको डा. पाण्डेले जानकारी दिए । ‘जनशक्ति अभावमा ५० भन्दा बढी संक्रमितलाई सेवा दिन सक्ने अवस्थामा छैनौं,’ उनले भने, ‘दैनिक ३ सयभन्दा बढी अन्य बिरामीलाई पनि सेवा दिनुपरिरहेको छ ।’

पाण्डेले अन्य जिल्ला अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रको क्षमता र सेवा विकास गर्न आवश्यक रहेकोमा जोड दिए । सामान्य अवस्थाका संक्रमितलाई स्थानीय तहमै आइसोलेसनमा राख्ने व्यवस्था हुनुपर्ने उनको भनाइ छ ।

कोरोना पोजिटिभ देखिएजति सबैलाई अस्पताल भर्ना गर्न सकिने अवस्था नरहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले बताए । ‘लक्षण नदेखिएकालाई घर वा स्थानीय तहले बनाएका आइसोलेसन कक्षमा राख्नुपर्छ,’ उनले भने, ‘स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि मात्रै अस्पताल पुर्‍याउन भनेका छौं ।’ उनले सुदूरपश्चिमका ८८ वटै स्थानीय तहलाई ५०/५० बेडको आइसोलेसन कक्ष तयार पार्न पत्र पठाइएको बताए ।

जिल्ला अस्पतालहरूमा पनि ५०/५० बेडको कोभिड कक्ष तयार पार्न लागिएको अवस्थीले जानकारी दिए । ‘सेतीमा ५० बेडको कोभिड अस्पताल छुट्टै सञ्चालन भइसक्यो,’ उनले भने, ‘महाकाली र टीकापुरमा ५०/५० बेडको तयार भइरहेको छ ।’

प्रकाशित : जेष्ठ २८, २०७७ १२:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?