कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

‘खाना खानसमेत खर्च नभएपछि ज्यालाको आश मारेरै आयौं ’

भवानी भट्ट

महेन्द्रनगर — ६० वर्षीय वीरबहादुर राना हरेक वर्ष मंसिरमा भारत जान्थे, चैतमा घर फर्किन्थे । भारत उत्तराखण्डको बद्रीनाथ नजिकै जोशीगढमा काम गर्ने उनी यस वर्ष पनि चैत सुरुमै घर फर्किन चाहन्थे ।

‘खाना खानसमेत खर्च नभएपछि ज्यालाको आश मारेरै आयौं ’

त्यसैअनुसार उनले तयारी पनि गरेका थिए । तर ठेकेदारले समयमै ज्याला नदिँदा उनी तीन महिना लकडाउनमै थुनिए । काम बन्द भए पनि घरसम्म पुग्ने खर्च नभएका कारण उनी आउन सकेनन् ।

‘आज दिन्छु, भोलि दिन्छु भन्दै तीन महिला झुलायो, जब डेरामा भएको अन्न पनि सकिन थाल्यो ठेकेदार पनि भाग्यो,’ रानाले भने, ‘खाना खानसमेत खर्च नभएपछि ज्यालाको आश मारेरै आयौं ।’ उनी शनिबार गड्डाचौकी नाका हुँदै भित्रिएका हुन् । रानासहित १२ जना चार/चार महिनाको ज्याला नपाएपछि साथीभाइसंँग ऋण काढेर आएका हुन् ।

लकडाउनको अवधिमा सुरुमा पाएको ज्यालाले खर्च चलेको थियो । ठेकेदार पनि ज्याला दिन्छु भन्दै आएका थिए । तर जब रासन र खर्च सकिन लाग्यो ठेकेदार पनि आउन छाडेको रानाले बताए । घरसम्म पुग्ने भाडासमेत साथ भाइसँंग सापटी मागेको उनले बताए । ‘एक जनाको ५०/६० हजार ज्याला पाउन बाँंकी छ,’ उनले भने, ‘कसैले त सुरुदेखिकै ज्याला पाएका छैनन ।’

जुम्लाका राना १५/१६ वर्षकै उमेरदेखि कामको खोजीमा भारत जान लागेका हुन् । सुरुमा घर परिवारको खर्च चलाउन भारत पस्नै पर्ने बाध्यता थियो । अहिले छोराछोरी कमाउने भइसकेका छन् । तर उनले सानैदेखि काम गरेको ठाउँ चटक्कै छाड्न सकेनन् । त्यही भएर उनी बुढेसकालमा पनि जुम्लादेखि जोशीगढसम्म पुग्छन् । ‘हिउंँदमा हिउँ परेर जुम्लामा जाडो धेरै हुन्छ, त्यही भएर पनि मंसिरमा भारततिर जाने र चैतमा फर्किने गर्छु,’ उनले भने, ‘यसपाली ज्याला नपाउँदा र लकडाउनका कारण अहिलेसम्म रोकिएँ ।’

बाँके कोहलपुरका सन्तबहादुर बुढामगरको टोलीलाई पनि डेढ लाखभन्दा बढी ज्याला दिइएन । तीन महिना काम बन्द भएर बेखर्ची भएका उनीहरु पनि ज्याला नपाएपछि साथीभाइसंँगै ऋण मागेर घर फर्किएका हुन् ।

‘२० जनाको डेढ/दुई लाख ज्याला पाइएन,’ बुढामगरले भने, ‘ठेकेदारले अर्को पाला दिन्छु भनेको छ, यसपाली काम पनि त्यति राम्रो भएन, कमाइ पनि खासै नभएको बतायो ।’ भारत उत्तराखण्डकै बागेश्वर जिल्लामा मजदुरी गर्ने उनीहरु पनि ज्याला नपाएकै कारण अहिलेसम्म रोकिएका थिए । अन्तिममा आफूसँंग भएको खर्च पनि सकिन थालेपछि सबैजना घरतर्फ आएको उनले बताए ।

बाँके कोहलपुरका जयबहादुर बुढाले पनि घर फर्किने बेला दुई महिनाको ज्याला पाएनन् । उनी आइतबार गड्डाचौकी नाका हुँदै भित्रिएका हुन् । भारत उत्तराखण्डको चमौली जिल्लामा मजदुरी गर्ने उनीसहित १२ जनाले दुई/दुई महिनाको ज्याला नपाएको उनले बताए । ‘लकडाउनको बेला काम पनि खास भएन भन्दै ठेकेदारले ज्याला दिएन’ बुढाले भने, ‘अन्तिमसम्म पनि मागेका थियौं, तर अहिले दिन नसक्ने भनेपछि हामी छाडेर आयौं ।’

यतिबेला गड्डाचौकी नाकाबाट दैनिक एक/डेढ हजारको संख्यामा नेपालीहरु भित्रिइरहेका छन् । भारतका विभिन्न क्षेत्रबाट भित्रिने उनीहरु कतिपय हप्ता दिनसम्म पैदल हिँडेर आएका छन् भने कतिपय ज्याला नपाएर दुुख भोग्दै नाकासम्म पुगेका छन् । त्यतिमात्रै होइन सवारी साधनमा आउनेले समेत महँगो भाडा तिर्नुपरेको उनीहरु बताउँछन् ।

‘गाडी भाडामा पनि एक लाख बढी खर्च भयो,’ बुढामगरले भने, ‘रोडवेजको बस पाइएन, प्राइभेट गाडी बुक गरेर आयौं, त्यही भएर बढी खर्च लाग्यो ।’ यस पटक लकडाउनका कारण नेपाली कामदारहरुले राम्रो आम्दानी गर्न सकेनन् । त्यसैमा कतिपयले ज्याला पाएनन् भने घर फर्किंदासमेत बढी भाडा तिर्नुपर्दा निकै समस्या भएको उनीहरु बताउँछन् । कतिपयलाई त अब घर फर्किनु भन्दा नफर्किनु नै ठीक लागेको छ ।

‘खर्चको नाममा सुको बाँकी छैन, घर खर्च केले चलाउनु,’ बुढाले भने, ‘यो पालाको जस्तो त कहिल्यै भएन, काम गरेको ज्याला पाइएन, गाडीमा भाडा धेरै लाग्यो जताततै दु:खै दु:ख ।’ उनले अब सकभर गाउँमै ज्याला मजदुरी गर्ने सोच बनाएका छन् । घरमा खेतीपातीको काम गरेर बांँकी समय मजदुरी गर्ने उनको योजना छ ।

कञ्चनपुरको गड्डाचौकी नाकाबाट जेठ १२ देखि नेपालीहरुलाई भित्र्याउन सुरु गरेको हो । यो नाकाबाट हालसम्म करिब २५ हजार नेपालीहरु भित्रिएका छन् । भारतको उत्तराखण्ड, हिमाञ्चलसँगै दिल्ली, मुम्बई, बेंग्लोर र गुजरातलगायतका ठाउँबाट नेपालीहरु धमाधम फर्किन थालेका छन् । यो नाका भएर फर्किनेमा अधिकांश सुदूरपश्चिम र कर्णाली प्रदेशका बासिन्दा रहेका छन् ।

प्रकाशित : जेष्ठ २७, २०७७ १४:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?