बयालपाटा अस्पतालका एक कर्मचारीले आफ्नै शरीरमा आगो लगाए- सुदूरपश्चिम - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बयालपाटा अस्पतालका एक कर्मचारीले आफ्नै शरीरमा आगो लगाए

मेनुका ढुंगाना

अछाम — बयालपाटा अस्पतालका एक जना कर्मचारीले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन् । अस्पतालले हटाएका ३३ जना कर्मचारीमा चर्पी सफा गर्ने कामको जिम्मेवारी पाएका साफेबगर नगरपालिका–६ का सिदार्थ आउजी समेत रहेका थिए ।

अस्पतालमा आर्थिक संकट परेको भन्दै उनी लगायत ३२ जना कर्मचारीलाई अस्पतालले हटाएको थियो । दुई महिना अगाडि नै अस्पतालले हटाएकाे चिठी दिएपछि सिदार्थ तनावमा रहेको हटाइएका अर्का कर्मचारी विशाल पण्डितले बताए ।

'म अस्पतालमा चौकीदारको काम गर्थे । सिदार्थ ट्वाइलेट सफा गर्थे । पुरानो नियुक्ति सकिन दुई महिना बाँकी रहेको थियो । हामी काम गर्न अस्पताल गयौं ' उनले भने,' तिमीहरूलाई हटाइसकेको हो । फेरि किन अस्पताल आयौ भन्दै हाकिमहरुले थर्काए । प्रहरी लगाएर बाहिर निकाले ।' महामारीकै समयमा परिवारको रोजीरोटी चल्ने माध्यम नै बन्द भएपछि न्यूनस्तरका धेरै कर्मचारी तनावमा भएको उनको भनाइ छ । यता बयालपाटा अस्पतालले भने अस्पतालमा आर्थिक अभाव भएको भन्दै कार्यसम्पादन, अनुशासन सबै हेरेर कर्मचारी हटाएको बताएको छ ।

अस्पतालको गेट अगाडि साेमबार बिहान आफ्नै शरीरमा आगो लगाएका आउजीलाई हेलिकप्टरमार्फत नेपालगन्ज थप उपचारको लागि लैजाने तयारी भएको प्रमुख जिल्लामा अधिकारी पुण्यविक्रम पौडेलले बताए ।

प्रकाशित : जेष्ठ २६, २०७७ ११:२३
प्रतिक्रिया
पठाउनुहोस्

ब्राजिलले हटायो वेबसाइटबाट कोरोना संक्रमितको तथ्यांक

ब्राजिलमा करिब ६ लाख ९१ हजार संक्रमित, ३६ हजार ४ सयभन्दा बढीको मृत्यु
एजेन्सी

ब्रासिलिया — कोरोना भाइरसको संक्रमणबाट अमेरिकापछि सबैभन्दा बढी प्रभावित ब्राजिलले संक्रमितको तथ्यांक सरकारी वेबसाइटबाट हटाएको छ । कोरोना नियन्त्रण तथा रोकथामका लागि प्रभावकारी कदम नचालेको भन्दै राष्ट्रपति जायर बोलसोनारोको व्यापक आलोचना भइरहेका बेला यसअघिको तथ्यांक हटाइएको हो ।

ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार अब पछिल्लो २४ घण्टाको मात्रै अपडेट गरिनेछ । अरु देशले जस्तो हालसम्म संक्रमित, मृत्यु हुने र निको हुनेको कुल संख्या ब्राजिलले अपडेट गर्नेछैन । ब्राजिलका राष्ट्रपति बोलसोनारोले कुल तथ्यांकले वर्तमान अवस्थाको चित्रण नहुने बताएका छन् ।

अमेरिकाको जोन्स होप्किन्स विश्वविद्यालयको कोरोना रिसोर्स सेन्टरका अनुसार ब्राजिलमा संक्रमितको संख्या ६ लाख ९१ हजार नाघेको छ । त्यस्तै ब्राजिलमा अहिलेसम्म ३६ हजार ४ सय ५५ को मृत्यु भएको छ । ब्राजिलमा संक्रमण पुष्टि भएकामध्ये करिब २ लाख ८४ हजार निको भएका छन् ।

विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले सिफारिस गरेको लकडाउनसम्बन्धी मापदण्ड लागू नगरेको भन्दै राष्ट्रपति बोलसोनारोको आलोचना भइरहेको छ । पर्याप्त मात्रामा परीक्षण नभएकाले संक्रमितको संख्या अझै बढी हुन सक्ने पनि बताइएको छ । बोलसोनारोले शुक्रबार मात्रै डब्लूएचओ ‘पक्षपाती राजनीतिक संगठन’ भएको आरोप लगाउँदै सदस्यता त्याग्ने चेतावनी दिएका थिए ।

शनिबार ब्राजिली स्वास्थ्य मन्त्रालयले विभिन्न राज्य र नगरपालिकाहरुले लामो समयदेखि संकलन गरेको तथ्यांक आधिकारिक वेबसाइटबाट हटायो । मन्त्रालयको वेबसाइटमा पछिल्लो २४ घण्टामा २७ हजार ७५ वटा नयाँ केस देखिएको, ९ सय ४ जनाको मृत्यु भएको र १० हजार २ सय ९ जना निको भएको देखाइयो । राष्ट्रपति बोलसोनारोले ट्वीटरमार्फत कुल तथ्यांकले अहिलेको अवस्था चित्रण नगर्ने बताए पनि वेबसाइटबाट किन तथ्यांक हटाइयो भन्नेबारेमा भने केही भनेका छैनन् ।

पछिल्ला ४ दिनमा लगातार एक हजारका दरले कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएपछि ब्राजिलले तथ्यांक हटाएको हो । सरकारको यो कदमको सांसद तथा पत्रकारले कडा आलोचना गरेका छन् ।

प्रकाशित : जेष्ठ २६, २०७७ ११:१७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×