महाकाली अस्पतालमा कागजमा मात्रै भेन्टिलेटर

१५ जना कोरोना संक्रमितलाई राखिएको महाकाली अस्पतालमा तीमध्ये कसैलाई पनि गम्भीर समस्या आए उपचार गर्न सकिने अवस्था नरहेको चिकित्सक बताउँछन् ।
भवानी भट्ट

कञ्चनपुर — सुदूपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले आफ्नो फेसबुक पेजमा कोरोना संक्रमणको अवस्था, स्वास्थ्य सामग्रीको मौज्दात, क्वारेन्टाइन र आइसोलेसन बेड तथा त्यहाँ बस्नेहरूको संख्या र परीक्षणको अवस्थाबारे दिनहुँ अपडेट गरिरहेको हुन्छ ।

महाकाली अस्पतालमा कागजमा मात्रै भेन्टिलेटर

त्यही पेजमा डेढ महिनादेखि महाकाली अस्पतालमा दुईवटा भेन्टिलेटर रहेको उल्लेख छ । तर यहाँ हालसम्म भेन्टिलेटर जडान त परै जाओस्, खरिद नै भएको छैन ।

महाकाली अस्पतालमा अहिले कञ्चनपुरका ८ र कैलालीका ७ गरी यहाँ १५ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमितका लागि बनाइएका आइसोलेसन बेड भरिएपछि चौमालाका संक्रमितलाई महाकाली अस्पताल पठाइएको हो । यहांँ पनि अब १ बेड मात्रै खाली रहेको अस्पतालले जनाएको छ ।

‘अहिलेसम्म सबैको अवस्था सामान्य छ, कुनै समस्या छैन,’ महाकाली अस्पतालका डा. सरोज आचार्यले भने, ‘तर कसैमा पनि श्वासप्रश्वास लिन वा अन्य गम्भीर समस्या देखिए यहाँ उपचार हुन सक्ने अवस्था छैन ।’ उनका अनुसार अक्सिजन दिँदा पनि श्वासप्रश्वासमा समस्या रहिरहे भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने हुन्छ । तर यहाँ भेन्टिलेटर नै छैन ।

महाकाली अस्पतालमा भेन्टिलेटरसहित विभिन्न उपकरण खरिदका लागि प्रदेश सरकारले १ करोड बजेट निकासा गरेको थियो । सोहीअनुसार अस्पताल प्रशासनले चैत दोस्रो साता टेन्डर पनि आह्वान गरेको थियो । आरजी सप्लायर्सलाई ५३ लाखमा ठेक्का दिइएको थियो । तर सप्लायर्सले सम्झौताविनै दुइटा भेन्टिलेटर, पेसेन्ट मोनिटर, ब्लड ग्यास एनालाइजर र डिफिलेटर अस्पताल पुर्‍यायो । तर ती सबै सामग्री पुरानो र खिया लागेको भेटिएपछि ठेक्का प्रक्रिया नै रद्द गरिएको थियो ।

सुदूरपश्चिम प्रदेश सरकारले समेत पुराना भेन्टिलेटरको छानबिन गर्न बायोमेडिकल इन्जिनियर हरेन्द्र चटौतलाई पठाएको थियो । उनले सम्पूर्ण सामग्री जाँच गरी मन्त्रालय र अस्पताल प्रशासनलाई बुझाएको प्रतिवेदनमा फिलिप्स कम्पनीको भेन्टिलेटर सन् २०१५ को अन्तिमतिर बनेको, अक्सिजन पाइप र ट्रलीमा खिया लागेकोलगायत त्रुटि औंल्याएका छन् । अस्पताल प्रशासनकै मिलेमतोमा ती पुराना सामग्री ल्याइएको अस्पताल विकास समितिले आरोप लगाएको छ । सामाजिक सञ्जालमा भेन्टिलेटर खरिदमा कमिसनको खेल भएको व्यापक चर्चा भएपछि सप्लायर्सलाइ नै उपकरण फिर्ता गरियो ।

‘भेन्टिलेटरसहितका उपकरण खरिदका लागि पुनः टेन्डर प्रक्रिया सुरु गरिएको छ,’ महाकाली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हरि श्रेष्ठले भने, ‘जेठ २८ मा टेन्डर खोलिनेछ, असार दोस्रो हप्ताअगाडि भेन्टिलेटर उपलब्ध हुने सम्भावना छैन ।’ उनका अनुसार अस्पताल विकास समितिले यसअघि नै खरिद गरेको भेन्टिलेटरसमेत प्रयोगमै नआई बिग्रिएको छ । बिरामीमा गम्भीर समस्या देखिए सेती प्रदेशिक अस्पतालमै पुर्‍याउनुको विकल्प नरहेको श्रेष्ठले बताए ।

तीन वर्षअघि आईसीयू बेड सञ्चालनका लागि जडान गरिएका उपकरणमा पनि खिया लागेको छ । तत्कालीन अस्पताल विकास समितिले ४ बेडको आईसीयू सञ्चालनका लागि उपकरण जडान गरेको थियो तर विशेषज्ञ डाक्टर नहुँदा सञ्चालन हुन सकेन ।

कोरोना अस्पताल निर्माणमा पनि ढिलाइ

एक महिनाभित्र काम सम्पन्न गर्ने गरी वैशाख पहिलो साता ठेक्का सम्झौता भएको कोरोना अस्पताल निर्माणको काम अझै सकिएको छैन । निर्माण कम्पनीकै कारण हालसम्म काम पूरा नभएको अस्पताल प्रशासनले जनाएको छ ।

महाकाली अस्पताल परिसरमै ५० बेडको कोरोना अस्पतालको छुट्टै भवन निर्माणका लागि विपिन विल्डर्ससँग चैत अन्तिममा ९७ लाख रुपैयाँमा सम्झौता भएको हो । ‘म्याद थप गरेर पनि अझै काम सकिएको छैन,’ अस्पतालका मेडिकल रेकर्डर नारद भट्टले भने, ‘९०/९५ प्रतिशत मात्रै काम भएको छ ।’ निर्माण कम्पनीले लकडाउनमा सामग्री तथा कामदारको अभाव भएकाले समयमै काम गर्न नसकिएको जनाएको उनले बताए । सुदूरपश्चिम प्रदेश सरकारले महाकाली अस्पतालमा छुट्टै कोरोना अस्पताल निर्माणका लागि १ करोड बजेट पठाएको थियो ।

प्रकाशित : जेष्ठ २४, २०७७ ११:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?