२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

फ्रिज भरिएपछि रोकियो स्वाब संकलन

धनगढी — सुदूरपश्चिम प्रदेशमा कोरोना परीक्षणका लागि स्वाब संकलनको काम ५ दिनका लागि रोकिएको छ । भण्डारण क्षमताभन्दा बढी स्वाब संकलन हुने अवस्था भएपछि काम रोक्नुपरेको प्रदेश स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले बताए । ‘ल्याबको डिप फ्रिजमा ११ सय वटाभन्दा बढी स्वाब राख्न सकिँदैन,’ उनले भने ।

फ्रिज भरिएपछि रोकियो स्वाब संकलन

विभिन्न ठाउँबाट संकलन भएर प्रदेशको एकमात्र प्रयोगशालामा ल्याइएका नमुनाको परीक्षणमै कम्तीमा ५ दिन लाग्ने देखिएकाले हाललाई स्वाब संकलन स्थगन गर्नुपरेको उनले बताए ।

सेती प्रयोगशालामा दैनिक २ सय ५० जनाको मात्रै स्वाब परीक्षण भइरहेको छ । ‘मेसिन पनि एउटै भयो, टिम पनि एउटा मात्र छ,’ उनले भने, ‘परीक्षण बढाउन मेसिन र जनशक्ति थप्नु आवश्यक छ ।’ सुदूरपश्चिममा अहिले ६० हजार जनाभन्दा बढी क्वारेन्टाइनमा छन् । सबैको पीसीआर परीक्षण गर्न अहिलेको एउटा मेसिन र जनशक्तिले नभ्याउने उनको भनाइ छ । प्रदेश सरकारले अर्को मेसिन खरिदका लागि प्रक्रिया सुरु गरेको भए पनि कहिलेसम्म आइपुग्ने भन्ने टुंगो छैन । अर्को मेसिन, स्वाब स्टोरेज गर्ने डिप फ्रिज र जनशक्ति बढेपछिमात्रै परीक्षणलाई गति दिन सकिने उनले बताए ।

संक्रमणमुक्त नहुँदै ६ जना डिस्चार्ज

कोरोना संक्रमण निको नहुँदै सेती प्रादेशिक अस्पतालबाट शुक्रबार ६ जनालाई डिस्चार्ज गरिएको छ । बैतडीको शिवनाथ गाउँपालिकाका ४, अछामको मेल्लेखका ३२ वर्षीय पुरुष र उनकी ११ वर्षीया छोरीलाई घरैमा सुरक्षित तरिकाले बस्ने गरी डिस्चार्ज गरेको अस्पतालले जनाएको छ ।

भारतबाट आएका उनीहरूको परीक्षणमा कोरोना पोजिटिभ पाइएपछि गौरीफन्टा नाकाबाट अस्पताल ल्याइएको थियो । परीक्षणमा पोजिटिभ पाइए पनि लक्षण नदेखिएकालाई सुरक्षा निर्देशसहित घर पठाउन सकिने स्वास्थ्य मन्त्रालयको नयाँ निर्देशिकामा थियो । सोहीअनुसार उनीहरूलाई डिस्चार्ज गरिएको अस्पतालका मेसु डा. हेमराज पाण्डेयले बताए । डिस्चार्ज गरिए पनि उनीहरू शुक्रबार अस्पतालमै छन् । सम्बन्धित पालिकालाई घर लैजाने व्यवस्था गर्न खबर गरेकाले गाडीको व्यवस्था नहुँदासम्म अस्पतालमै राखिने डा. पाण्डेयले बताए ।

प्रकाशित : जेष्ठ २३, २०७७ २०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?