२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

भारतीय क्वारेन्टाइनबाट फर्किएकाहरू भन्छन्– ‘त्यहाँको दुःख भनिसाध्य छैन ।’

वसन्तप्रताप सिंह

बझाङ — हरेक दिन चिसो भुइँको सुताइ । खानामा तेल ननिख्रिएको पुरी । त्यो पनि दिनको एक छाक मात्र । पिउनलाई बाथरुमको पहेंलो पानी ।

भारतीय क्वारेन्टाइनबाट फर्किएकाहरू भन्छन्– ‘त्यहाँको दुःख भनिसाध्य छैन ।’

विन्दु अधिकारीले भारतीय क्वारेन्टाइनमा हरेक दिन भोगेको व्यथा हो यो । मंसिर पहिलो साता भारतको फरिदाबाद पुगेकी उनी लकडाउनका कारण उतै अड्किएकी थिइन् ।

‘यस्तो दु:ख त शत्रुले पनि नपाओस्,’ थलारा गाउँपालिका–२ की उनले सम्झिइन्, ‘स्कुलको सानो हलमा सबैलाई भेडाबाख्रा कोचेजसरी राखिएको थियो । भर्खरै सुत्केरी भएकी महिलालाई पनि सँगै राखिएको थियो ।’

त्यहीँको होटलमा काम गर्ने पतिलाई भेट्न र लामो समयदेखिको पेटको समस्या उपचार गर्न भारत गएकी थिइन् विन्दु । फागुनसम्म सबै राम्रै थियो । जब मार्च २२ मा भारत सरकारले लकडाउनको घोषणा गर्‍यो, श्रीमान् विकास बोहराको रोजगारी गुम्यो । साहूले आफ्नो व्यवस्था आफैं गर्न भनेपछि उनीहरूले घर फर्किने तयारी गरे ।

फरिदावादमै रहेका थलाराका अन्य ९३ जनाको अवस्था पनि उस्तै थियो । सबै मिलेर एउटा बस रिजर्भ गरी स्वदेशतिर लागे । तर भारतको बरेलीमा उनीहरूको गाडी भारतीय प्रहरीले नियन्त्रणमा लियो । लकडाउनमा हिँड्न नमिल्ने भन्दै सबैलाई रामपुर जिल्लाको क्वारेन्टाइनमा राखियो । ५५ दिन रामपुरको क्वारेन्टाइनमा बस्दा जीवनमा कहिल्यै नझेलेको दुःख पाएको विन्दुले बताइन् ।

थलाराकै सरस्वती नेपालीको त त्यही क्वारेन्टाइनमा पाँच महिनाको गर्भ नै खेर गयो । खानपान र बसोबासको राम्रो व्यवस्था नहुँदा गर्भ खेर गएको उनको दुखेसो छ । ‘चिसो भुइँमा २०/२५ जनासँगै कोचिएर सुत्नु पर्थ्यो । कोठामा बिजुली थिएन । झुल पनि थिएन । लामखुट्टेले टोकेर हैरान पार्थ्यो,’ उनले भनिन्, ‘त्यहाँको दुःख त जीवनमा कहिल्यै बिर्सिइँदैन होला ।’ उनले प्रहरीलाई आफ्नो अवस्था बताइन् तर जाँच गर्न बाहिर जान दिएनन् । पहेंलो पानी पिएर मानिसहरू बिरामी हुन थालेपछि बाहिरबाट ल्याउन खोज्दा पनि रोकियो ।


‘हामीलाई त अपराधीजस्तै थुनेर राखियो,’ रामपुर क्वारेन्टाइनमा बसेका भरत थापाले भने, ‘प्रहरीलाई गुनासो गर्दा उल्टै यहाँको नियम यही छ । सुबिस्ता चाहिएको भए तिम्रो सरकारलाई उद्धार गर्न भन भनेर थर्काउँथे ।’

क्वारेन्टाइनमै सुत्केरी भएकी थलाराकै हर्कला दाहालले आफूसँग भएको पैसाले बाहिरबाट राम्रो खानेकुरा र पानी किनेर खान्छौं भन्दा पनि प्रहरीले रोकेको बताइन् । ‘पैसा दिन्छौं किनेर ल्याइदिनुस् भन्दा पनि ल्याइदिएनन् । त्यहाँको दुःख भनेर साध्य छैन,’ उनले भनिन् । उनीहरूलाई थलारा गाउँपालिकाले केही दिनअघि मात्रै उद्धार गरेर जिल्ला पुर्‍याएको थियो ।

भाडा नपाएरै अलपत्र

भारतबाट आएकाहरूले थुप्रै नेपाली घर फर्किने भाडा नपाएर भारतमा अलपत्र परेको बताएका छन् । लकडाउनका कारण रोजगारी गुमाएपछि ससाना होटेल, रेस्टुरेन्ट, ढावामा काम गर्ने, चौकीदारी गर्ने तथा विभिन्न क्षेत्रमा दैनिक मजदुरी गर्दै आएका नेपाली कामदार भाडा नपाएर समस्यामा परेको दिल्लीबाट फर्केका राघव जोशीले बताए ।

कतिपयका साहूले फोन स्विचअफ गरेर बसेको र कतिपयले फोन नउठाउने गरेकाले तलब नपाएर धेरै मजदुरको सडकमा बास भएको उनले सुनाए । जोशीका अनुसार दिल्लीमा मात्रै बझाङका २ हजारभन्दा बढी नेपाली घर फर्किन चाहे पनि भाडा नपाएर अलपत्र छन् । ‘धेरैजसोलाई खाना पनि मागेर खानुपर्ने अवस्था छ । कति जना भोकभोकै सडकमा भौंतारिइरहेका छन्,’ उनले भने ।

प्रकाशित : जेष्ठ २३, २०७७ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?