डोटीमा दुई  महिला क्वारेन्टाइनमै सुत्केरी

मोहन शाही

डोटी — जिल्लाका क्वारेन्टाइनमा रहेका दुई महिलाले त्यहीँ बच्चा जन्माएका छन् । उनीहरू दिपायल–सिलगढी नगरपालिका र शिखर नगरपालिकाको क्वारेन्टाइनमा बस्दै आएका छन् ।

दिपायल सिलगढी–२ खातिवडास्थित देवी माविको क्वारेन्टाइनमा बसेकी २१ वर्षीया गीता आउजी र शिखर–३ स्थित भवानी आधारभूत विद्यालयको क्वारेन्टाइनमा रहेकी २५ वर्षीया पूजा सार्की दुवैले छोरा जन्माएका हुन्। गीता श्रीमान्सँगै १२ गते भारतबाट फर्किएकी थिइन् ।

वडाध्यक्ष राजेन्द्र खड्काका अनुसार गीताले बुधबार राति दुई बजे छोरा जन्माएकी हुन् । उनी बसेको क्वारेन्टाइनमा ७४ जना छन् । ‘आमा र बच्चा दुवैको स्वास्थ्य अवस्था सामान्य छ,’ उनले भने, ‘आरडीटी परीक्षणपछि नतिजा नेगेटिभ आए होम क्वारेन्टाइनमा बस्ने गरी पठाउँछौं ।’

शिखर नगरपालिका–३ नकुरालीकी पूजाले बिहीबार बिहान साढे ५ बजेतिर क्वारेन्टाइनभित्रै छोरा जन्माएको नगरपालिकाका स्वास्थ्य संयोजक हरीश शाहले बताए । उनी भारतको मुम्बईबाट पतिसँगै जेठ १५ गते फर्केकी थिइन् । उनीहरू दुवैले स्वास्थ्यकर्मीको सहयोगबिनै बच्चा जन्माएका हुन् । यसअघि शिखरकै वडा नं १ मा पनि एक महिलाले क्वारेन्टाइनभित्रै बच्चा जन्माएकी थिइन् ।

प्रकाशित : जेष्ठ २२, २०७७ १२:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?