१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

अस्पतालमा बेड नपाएपछि संक्रमित बर्थिङ सेन्टरमा

मोहन बुढाऐर

धनगढी — बेड अपुग भएपछि सेती प्रादेशिक अस्पतालले मंगलबार राति उपचारका लागि आएका पाँच जना कोरोना सक्रमितलाई फिर्ता पठाएको छ । गौरीगंगा नगरपालिकाका उनीहरूलाई गाउँकै बर्थिङ सेन्टरमा राखिएको छ ।

अस्पतालमा बेड नपाएपछि संक्रमित बर्थिङ सेन्टरमा

सेतीमा कोभिड–१९ का बिरामीका लागि तयार पारिएका २४ वटै बेड भरिभराउ भएपछि नयाँ आउनेलाई ठाउँ छैन । गौरीगंगाका मेयर भीमबहादुर देउवाले अस्पतालले फिर्ता पठाएपछि सक्रमितलाई वडा नम्बर ४ को बर्थिङ सेन्टरमा राखिएको बताए । महाकाली अस्पतालमा ६ वटा बेड खाली रहेको खबर आएकाले अब त्यता पठाउने तयारी गरिएको उनले जानकारी दिए । स्थानीय तहले बिरामी पठाए पनि अस्पताल प्रशासनले व्यवस्थापन गर्न नसक्दा समस्या परेको देउवाको भनाइ छ ।

सेती अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेयले कोभिड बिरामीका लागि तयार पारिएका बेड भरिएकाले फिर्ता पठाउनुपरेको बताए । ‘अहिले सेती अस्पतालको आइसोलेसनमा २५ जना संक्रमित छन्,’ उनले भने, ‘आमा–छोरा संक्रमितलाई एउटै आइसोलेसनमा राखेका छौं ।’

प्रदेश सरकारले निर्माण गरेको ५० बेडको कोरोना अस्पताल अझै आवश्यक उपकरणसहित विभिन्न काम बाँकी रहेकाले सञ्चालनमा ल्याउन सकिएको छैन । ‘८ दिनअघि सेती अस्पताललाई कोरोना अस्पतालको भवन हस्तान्तरण गरिएको छ,’ मेसु पाण्डेयले भने, ‘तर त्यहाँ उपकरण जडान, जेनेरेटर, ग्रिल, नर्सिङ सुरक्षा कक्ष, खानेपानी, सीसीटीभीलगायत काम पूरा भएका छैनन् ।’ शुक्रबारसम्ममा कोरोना अस्पतालमा बिरामी राख्न सक्ने गरी काम थालिएको उनले जानकारी दिए ।

कैलालीकै टीकापुर अस्पतालमा आइसोलेन वार्ड तयार पारेर पछिल्ला ४ संक्रमितलाई भर्ना गरिएको छ । गौरीगंगाबाट बिरामी लगेपछि महाकाली अस्पतालका १० वार्ड पनि भरिनेछन् । तर हरेक दिन २०/२५ जनाका दरले संक्रमित थपिँदै गएकाले अस्पतालले धान्ने देखिँदैन ।

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार सेती, महाकाली, टीकापुर, ९ वटै जिल्ला अस्पताल र १५ स्वास्थ्य केन्द्रमा गरी १ सय ८० वटा आइसोलेसन वार्ड छन् । सेती अस्पतालमा ६ आईसीयू र १० भेन्टिलेटर छन् भने महाकालीमा चार आईसीयू र दुईवटा भेन्टिलेटर छन् ।

यसैबीच निर्देशनालयले अस्पतालमा बिरामीका लागि ठाउँ नपुग्ने भन्दै स्थानीय तहलाई कम्तीमा ५० शय्याको आइसोलेसन कक्ष तयार पार्न निर्देशन दिएको छ । तर गौरीगंगा नगरपालिकाका मेयर देउवा तुरुन्तै अस्पताल बनाउन नसकिने बताउँछन् ।

प्रकाशित : जेष्ठ २१, २०७७ १२:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?