डडेलधुराको क्वारेन्टाइनमा एक महिलाको मृत्यु

डीआर पन्त

डडेलधुरा — डडेलधुराको गन्यापधुरा गाउँपालिकामा रहेको क्वारेन्टाइनमा एक महिलाको ज्यान गएको छ ।गन्यापधुरा गाउँपालिका वडा नम्बर–२ की ३० वर्षीया महिलाको मृत्यु भएको स्थानीय प्रहरी चौकीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार मंगलबार राति श्रीमानसँग शौचालय गएकी महिला अचानाक बेहोस भएपछि मृत्यु भएको प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक धनबहादुर बिष्टले जानकारी दिएका छन ।

गन्यापधुरा गाउँपालिकाको असिग्राम माध्यामिक विद्यालयमा रहेको क्वारेन्टाइनमा उनको मृत्यु भएको हो ।

जिल्ला प्रहरी प्रमुख दधिराम न्यौपानेका अनुसार उनी आफ्ना श्रीमानसहित ४ दिनअघि भारतबाट फर्केकी थिइन् । उनको मृत्यु कसरी भयो भन्नेबारे जिल्ला स्वास्थ्य कार्यालयले बुझिरहेको बताएको छ ।


प्रकाशित : जेष्ठ २१, २०७७ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्

कुङफुमा चार स्वर्ण

कान्तिपुर संवाददाता

काठमाडौँ — अन्तर्राष्ट्रिय पेन्डामिक भर्चुअल गेम्समा नेपाली उमा कुङफु खेलाडीले चार स्वर्णसहित सात पदक जितेका छन् । अनलाइन प्रतिस्पर्धामा नेपालले थप २ रजत र १ कांस्य जितेको नेपाल उमा कुङफु संघका अध्यक्ष सिद्धार्थ लामाले जनाए ।

कमल मगर र सञ्जयराज पुटुवारले नेपाललाई दोहोरो पदक दिलाए । पुरुष ताइचीको सफ्ट स्टायलमा कमलले स्वर्ण जिते भने नन ट्रेडिसनल वेप्पनमा कांस्य जिते । पुरुषतर्फ सञ्जयले सफ्ट स्टायल र ट्रेडिसनल वेप्पन दुवै विधामा रजत जित्न सफल भए । महिला ताइचीको सफ्ट स्टायलमा मुन्नी सुवेदी (लामा) ले स्वर्ण जितिन् । महिला ताइचीमा जमुना गुरुङ तथा पुरुष फम्स विथ म्युजिकमा सुदीप श्रेष्ठले स्वर्ण जितेका थिए ।

वर्ल्ड मार्सल आर्ट्स कमिटी (डब्लूएमएसी) ले आयोजना गरेको प्रतियोगिता अस्ट्रियाको ब्रिगेन्जमा मे २८ देखि ३० सम्म भएको थियो । प्रतियोगितामा विभिन्न चार महादेशबाट १४ राष्ट्रका २ सय ३३ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । अध्यक्ष लामाका अनुसार नेपालबाट ५ खेलाडीले प्रतिस्पर्धा गरेकोमा सबैले पदक जिते । खेलाडीले आफूले सहभागिता जनाउने स्पर्धाको १ देखि ३ मिनेटसम्मको श्रव्यदृश्य डब्लूएमएसीमा पठाएका थिए । एक स्पर्धामा भाग लिन खेलाडीले १५ युरो दर्ता शुल्क तिरेका थिए ।

डब्लूएमएसीले कोरोना भाइरस (कोभिड–१९) कारण सम्पूर्ण वार्षिक प्रतियोगिता स्थगित गरेपछि यो भर्चुअल प्रतियोगिता गरेको हो । अध्यक्ष स्थिति सामान्य नभए नोभेम्बरमा डब्लूएमएसीले भर्चुअल विश्व च्याम्पियनसिप पनि गर्ने जानकारी गराइसकेको अध्यक्ष लामाले बताए ।

प्रकाशित : जेष्ठ २१, २०७७ ०८:३४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×