डोटीमा स्वास्थ्यकर्मीमाथि आक्रमण
डोटी — शिखर नगरपालिका-९ को दानकोट स्वास्थ्यचौकीमा कार्यरत अहेब रमेश कुवँरलाई स्वास्थ्य सामाग्री लिएर स्वास्थ्य चौकी जाँदै गर्दा सोमबार साँझ आक्रमण भएको छ ।
शिखर नगरपालिका-७ लाटामाण्डौंमा रहेको स्वास्थ्यचौकीबाट स्वास्थ्य सामग्री लगेर दानकोट स्वास्थ्यचौकी पैदल जाँद गर्दा कुँवरमाथि स्थानीय युवाहरूले आक्रमण गरेको प्रहरीले जनाएको छ । साँझ ७ बजे बोगटा गाउँको बाटो हुँदै स्वास्थ्यचौकी जाने क्रममा कुवँरलाई गाउँको बाटो हिँड्दा कोरोना संक्रमण फैलिने भन्दै मदिरा सेवन गरेका स्थानीय तीन जनाले गाली गलौच गर्दै ढुंगामुडा प्रहार गरेको घाइतेका आफन्तले बताएका छन् ।
गम्भीर घाईते भएका स्वास्थ्यकर्मी कुवँरलाई डडेल्धुरा अस्पताल पठाइएको नगरपालिकाका स्वास्थ्य संयोजक हरिश शाहले बताए । टाउको गम्भीर चोट लागेका कुँवरको डडेल्धुरा अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौं पठाइएको छ ।
प्रहरीले स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने तिनै जना युवाहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शिखर नगरपालिका ७ बोगटाका, नविन खत्री, रोशन खत्री र तेज लुहार रहेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक कर्ण बोहराले जानकारी दिए ।
प्रकाशित : जेष्ठ २०, २०७७ १६:२६