सुदूरपश्‍चिम प्रदेश सरकारद्वारा नीति तथा कार्यक्रम प्रस्तुत

अर्जुन शाह

धनगढी — सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष ०७७/०७८को नीती तथा कार्यक्रम प्रस्तुत गरेको छ । बजेट पेश गर्नुभन्दा दश दिनअघि सोमबार प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम केही परम्परागत तथा केही महत्वाकांक्षी योजनाहरु अघि सारिएका छन् ।

प्रदेश प्रमुख शर्मिला कुमारी पन्तले प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सरकारले आगामी आर्थिक वर्षमा कोभिड १९ को असरले थला परेको अर्थतन्त्रलाई पूर्ववत अवस्थामा फर्काउने कार्यक्रममा जोड दिएको उल्लेख गरिएको छ ।

नीति तथा कार्यक्रममा कोरोना भाइरसको संक्रमण र लकडाउनबाट परेको असर घटाउन विशेष आर्थिक कार्यक्रम ‘रोगबाट बचाऔं, भोकबाट बचाऔं', 'मेरो विशेष योग्यता मेरै प्रदेशका लागि', कामका लागि खाद्यान्न कार्यक्रम, बालिका विमा कार्यक्रम, रोजगार गुमाएकालाई कृषि कार्य गर्न विना धितो कर्जालगायतका केही नयाँ कार्यक्रमलाई नीति तथा कार्यक्रमा समेटेको छ ।

यस्तै, सेती र महाकालीलाई विशिष्ट सेवा दिने अस्पतालमा विकास, जलस्रोतमा लगानी नागरिकको आम्दानी, प्रदेश विश्वविद्यालयको स्थापना गरी कृषि शिक्षा तथा अनुसन्धानलाई महत्वका साथ अघि बढाउने सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । धनगढी, महेन्द्रगर र डडेलधुरामा कोभिड संक्रमणको उपचारका लागि पूर्वाधार विकास गर्ने उल्लेख गरिएको छ ।

प्रादेशिक यातायात गुरु योजना निर्माण गरेर आगामी वर्ष २१४ किलोमिटर सडक निर्माण गने सरकोको कार्यक्रम छ । सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान स्थापना, योजना आयोगलगायत अन्य संरचनाहरुको गठनमा जोड दिने नीति प्रदेश सरकारले लिएको छ ।

प्रमुख प्रतिपक्षी दलका प्रदेशसदस्यहरुले भने नीति तथा कार्यक्रम परम्परागत रहेको बताएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता रणबहादुर रावलले कोभिड १९ को असर न्यूनिकरण अहिलेको मुख्य सवाल भएपनि त्यसतर्फ दुरदर्शिता प्रकट नभएको बताए ।

प्रकाशित : जेष्ठ १९, २०७७ १९:१४
प्रतिक्रिया
पठाउनुहोस्

सप्तरीका पालिका प्रमुखहरु असन्तुष्ट, क्‍वारेन्टाइन व्यवस्थापन छोड्ने चेतावनी

स्थानीय प्रशासनले मापदण्डको पालना नगरेको र सुरक्षाकर्मीले पनि सहयोग नगरेकोमा उनीहरु असन्तुष्ट छन् ।
अवधेशकुमार झा

राजविराज — स्थानीय प्रशासनले मापदण्डको पालना नगरेको भन्दै सप्तरीका पालिका प्रमुखहरुले क्‍वारेन्टाइन व्यवस्थापन छोड्ने चेतावनी दिएका छन् । जिल्ला समन्वय समिति सप्तरीद्वारा सोमबार राजविराजमा आयोजित बैठकमा उनीहरुले कोभिड–१९ सम्बन्धी व्यवस्थापनमा प्रशासनले आफ्नो जिम्मेवारी पालना नगरेको आरोप लगाए ।

‘क्‍वारेन्टाइन व्यवस्थापनको जिम्मा स्थानीय तहको मात्र होइन,’ हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख शैलेशकुमार साहले भने, ‘निर्देशिका र मापदण्डमा सुरक्षा निकायले गर्नुपर्ने काम पनि हामीले गरिरहनुपरेको छ, जसका कारण क्‍वारेन्टाइन सञ्चालन गर्न समस्या भइरहेको छ ।’

‘कोरोना भाइरससम्बन्धी क्‍वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन गर्न बनेको मापदण्डमा उल्लिखित व्यवस्थाको पूर्ण रुपमा पालना स्थानीय प्रशासनबाट नदेखिएकाले नेपाल सरकारबाट निर्देशित जारी मापदण्डअनुसार गर्न गराउन अनुरोध गर्ने, सो नभएकामा स्थानीय तहहरुबाट क्‍वारेन्टाइन व्यवस्थापनमा सहजता दिन नसक्ने देखिएकाले सोको जानकारी स्थानीय प्रशासन, प्रदेश सरकार र केन्द्रीय सरकारलाई दिने,’ स्थानीय तह प्रमुखहरुले बैठकको निर्णयमा भनिएको छ ।

कोरोनाविरुद्ध लड्ने जिम्मेवारी आफूहरुको मात्र नरहेको प्रमुखहरुको भनाइ छ । ‘मापदण्डअनुसार सेना, प्रहरी र स्थानीय प्रशासनले किन जिम्मेवारी पूरा नगर्ने ?’ साहले भने, 'क्‍वारेन्टाइन सञ्चालन गर्न लाग्ने खर्च तिर्न स्थानीय तह मापदण्डअनुसार तयार भए पनि सञ्चालन, नियन्त्रण प्रशासनको तर्फबाट हुनुपर्छ ।'

क्‍वारेन्टाइन व्यवस्थापनमा सुरक्षाकर्मीबाट समेत असहयोग भएको रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादले बताए ।

पालिका प्रमुखहरुको बैठकले जिल्लामा पीसीआर परीक्षण किटको अभाव देखिएकाले पर्याप्त मात्रामा किट उपलब्ध गराउन सामाजिक विकास मन्त्रालय प्रदेश नम्बर २ र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग माग गर्ने निर्णय गरेको छ । बैठकमा गजेन्द्रनारायण सिंह अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले राजविराजमा पीसीआर मेसिन जडान भए पनि अहिले पूर्ण रुपमा रनिङ हुन केही समय लाग्ने बताए ।

प्रमुखहरुले जिल्लामा चोरीतस्करी बढेको निष्कर्षसमेत निकालेका छन् । बैठकमा सहभागी जिल्लाका प्रहरी प्रमुख एसपी कृष्ण प्रसाईले सप्तरीमा कुल ९ सय ५६ प्रहरी दरबन्दी रहेकोमा ३ सय ५० जनशक्ति अभाव रहेको बताए । बैठकको अध्यक्षता गरेका जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादवले सबै निकाय निर्देशिका र मापदण्डअनुसार चल्नुपर्ने बताउँदै स्थानीय तह एक्लै कोरोनासँग लड्न नसक्ने बताए ।


प्रकाशित : जेष्ठ १९, २०७७ १९:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×