क्वारेन्टाइनमा बस्नेलाई घरबाटै खाना

खाना पुर्‍याउँदा हुने असावधानीले संक्रमण समुदायमा फैलिन सक्ने जोखिम
भवानी भट्ट

कञ्‍चनपुर — नेपाल–भारत सीमा नजिकैको सिद्धनाथ अमर माविको क्वारेन्टाइनमा भारतबाट आएका ४० जनालाई राखिएको छ । यहांँ बस्ने सबै स्थानीय भएकाले उनीहरुका लागि खाना घरबाटै आउँंछ । भीमदत्त नगरपालिका–११ को उक्त विद्यालयको क्वारेन्टाइनमा बस्नेको संख्या थपिने क्रम जारी छ । 

क्वारेन्टाइनमा बस्नेलाई घरबाटै खाना

भीमदत्त नगरपालिका ५ को सत्यवादी माविमा रहेको क्वारेन्टाइनमा पनि ३५ जना बसिरहेका छन् । उनीहरुका लागि पनि घरबाटै खाना आउने गरेको छ । ‘वडाबाटै खाना खुवाउन सकिने अवस्था छैन, सबैलाई घरबाटै खाना आइरहेको छ,’ वडा नम्बर ५ का अध्यक्ष मदन चन्दले भने, ‘यसरी घरबाटै खाना पुर्‍याउँदा हामीले अत्यन्तै सावधानी अपनाउन भनिरहेका छौं ।’

सांँझ र बिहानको समयमा दिनहुँ ठूलो संख्यामा खाना पुर्‍याउन आउनेको भीड र क्वारेन्टाइनमा रहेकाहरुलाई खाना दिँदा हुने सामान्य असावधानीले समेत समुदायमा संक्रमणको जोखिम फैलन सक्ने सम्भावना अत्यधिक रहेको छ । ‘एकै पटक ठूलो भीड जम्मा हुन्छ, त्यसले झन् संक्रमण फैलिने जोखिम छ,’ सत्यवादी मावि छेउका एक स्थानीयले भने, ‘यसका लागि वडा कार्यालयले क्वारेन्टाइनमै खानाको व्यवस्थापन गर्न सके अझ राम्रो हुन्छ ।’

महाकाली नगरपालिकामा रहेका सबै क्वारेन्टाइनमा घरबाटै खाना आउने गरेको छ । यहांँ पनि हरेक क्वारेन्टाइनमा करिब एक सय ५० को संख्यामा बसिरहेका छन् । भारतबाट आउने क्रम जारी भएकाले क्वारेन्टाइनमा बस्नेको संख्या अझै थपिनेछ । ‘हामीले खाना प्लाष्टिक डिस्पोजल वस्तुमा ल्याउन भनेका छौं,’ महाकाली नगरपालिका वडा नं. ६ का अध्यक्ष दिलबहादुर सिंजालीले भने, ‘क्वारेन्टाइनमा बसेका व्यक्तिसंँग भाँडाकुडा वा अन्य वस्तुबाट सम्पर्क हुन दिएका छैनौं ।’

कञ्चनपुर जिल्लाभरिमा हालसम्म १३७ क्वारेन्टाइनमा करिब ६ हजार जनालाई राखिएको छ । हरेक क्वारेन्टाइनमा सय/डेढ सयको संख्यामा भारतबाट आएकाहरुलाई राखिएको छ । अधिकांशलाई आफ्नै वडामा राखिएको छ । ‘अधिकांश क्वारेन्टाइनमा बस्नेका लागि घरबाटै खाना आइरहेको छ,’ सशस्त्र प्रहरीको झलारीस्थित ३५ नं. गणका एसपी वीरसिंह साहुले भने, ‘कतिपय वडा र स्थानीय तहले क्वारेन्टाइनमै खानाको व्यवस्थापन पनि गरेका छन् ।’

क्वारेन्टाइनमा घरबाटै खाना आउँदा भीडभाड पनि हुने र भित्र दिनेबेला सावधानी अपनाउन नसके संक्रमण फैलिन सक्ने एसपी साहु बताउँछन् । ‘क्वारेन्टाइनको सही रुपमा व्यवस्थापन हुन नसके जोखिम निकै बढी हुन्छ,’ उनले भने ।

अधिकांश स्थानीय तहले बजेटको अभाव भएको भन्दै क्वारेन्टाइनमा खानाको व्यवस्थापन गर्न नसकिएको जनाएका छन् । कतिपय क्वारेन्टाइनमा खानेपानीको समेत अभाव रहेको त्यहांँ बसेकाहरु बताउछन् ।

क्वारेन्टाइन व्यवस्थापन निर्देशिकाले क्वारेन्टाइनमा बसेकालाई कसैको सम्पर्कमा आउन नदिने र खानाको व्यवस्थापन पनि भित्रै हुनुपर्ने व्यवस्था गरेको छ । ‘घरबाटै खाना पुर्‍याउनु निकै असुरक्षित हो,’ जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका जनस्वास्थ्य अधिकृत सिद्धराज भट्टले भने, ‘तर यहाँ एउटै स्थानीय तहमा दुई/अढाई हजार मान्छे बसिरहेका छन्, उनीहरुलाई क्वारेन्टाइनमै खानाको व्यवस्था गर्न कठिन भइरहेको छ ।’ उनले अब भारतबाट आउनेको संख्या बढ्दै गएपछि क्वारेन्टाइनमा ठाउँ समेत अपुग हुने अवस्था आउन सक्ने र त्यतिबेला होम क्वारेन्टाइनमा पठाउँदा अवस्था झन भयावह हुन सक्ने बताए ।

प्रकाशित : जेष्ठ १८, २०७७ १०:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?