१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सुदूरपश्चिममा क्वारेन्टाइन थप्दा पनि थेग्न मुस्किल

शुक्रबारसम्म यहाँ २६ हजारभन्दा बढी व्यक्ति क्वारेन्टाइनमा पुगिसके । तर भारतबाट आउनेहरूको लर्को नाकामा अझै उस्तै छ ।
मोहन बुढाऐर

धनगढी — सुदूरपश्चिम प्रदेशमा भारतबाट आउनेको संख्या बढ्दै गएपछि स्थानीय तहका क्वारेन्टाइन भरिँदै गएका छन् । पालिकाहरूले क्वारेन्टाइनको संख्या र क्षमता बढाउँदा पनि ठाउँ अपुग भएको छ ।

सुदूरपश्चिममा क्वारेन्टाइन थप्दा पनि थेग्न मुस्किल

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार शुक्रबार १ सय १ क्वारेन्टाइनस्थल थपिएका छन् । तिनमा ४ हजार ९ सय ८८ बेड छन् । शुक्रबारसम्म २६ हजार ४५ जना क्वारेन्टाइनमा छन् ।

निर्देशनालयका अनुसार बाजुरामा क्वारेन्टाइनस्थल ७४ बाट बढाएर ९२ वटा पुर्‍याइएको छ । अब त्यहाँ १ हजार ७ बेड पुगेका छन् । यसअघिका ८ सय ५१ बेड अपुग भएपछि तुरुन्तै स्कुललाई क्वारेन्टाइन बनाइएको हो । बाजुरामा क्वारेन्टाइनमा बस्नेको संख्या १ हजार ७५ पुगेको छ ।

बझाङमा पनि १४ वटा क्वारेन्टाइन थपिएका छन् । जिल्लाभरिमा गरी १ हजार ३ सय ७७ बेड छन् । तर शुक्रबारसम्म यहाँ १ हजार ५ सय जना पुगिसके । डोटीमा ३ हजार ७ सय ६६ जना क्वारेन्टाइनमा छन् । अछाम, बैतडी, डडेल्धुरा र दार्चुलाका क्वारेन्टाइन पनि भरिँदै गएका छन् ।

क्षेत्रीय स्वास्थ्य निर्देशनालयका अनुसार दार्चुलामा ९ सय २० बेड रहेकामा अहिले ८ सय ६ जना पुगिसकेका छन् । अछाममा बिहीबार १२ क्वारेन्टाइन थपिएका छन । भारतबाट आउनेलाई ध्यानमा राखेर १ सय १५ वटा क्वारेन्टाइनमा ३ हजार २ सय १५ बेडको व्यवस्था गरिएको छ । त्यहाँ अहिले १ हजार ६ सय २६ जना क्वारेन्टाइनमा छन् । बैतडीमा १० वटा क्वारेन्टाइन थपिएका छन् । त्यहाँका ४ हजार ७ सय ४१ बेडमध्ये अब ४ सयजति मात्र भरिन बाँकी छन् ।

त्यस्तै डडेल्धुराका ४ हजार १ सय ९७ बेडमध्ये २ हजार ६ सय ५ वटा भरिइसके । कैलालीमा १० हजार जनालाई क्वारेन्टाइनमा राख्न सकिने व्यवस्था मिलाइएको छ । तर बिहीबारै ७ हजार जनाजति पुगिसके । यो संख्या अझै बढ्ने देखिन्छ । कञ्चनपुरमा ४ हजार ९ सय ५ वटा बेड भरिएपछि ४७ वटा थप गरिएका छन् ।

सुदूरपश्चिमका नाकामा अझै भारतबाट आउनेको ओइरो रोकिएको छैन । पछिल्ला दुई सातामा कैलालीको गौरीफन्टाबाट मात्रै ३३ हजारभन्दा बढी भित्रिएका छन । जसमध्ये ८० प्रतिशत सुदूरपश्चिम र बाँकी अन्य प्रदेशका छन् । कञ्चनपुरको गड्डाचौकी, बैतडीको झुलाघाट र दार्चुला नाकाबाट समेत भित्रिएका छन् ।

उनीहरू सबैलाई १४ दिन क्वारेन्टाइनमा राख्न स्थानीय तहलाई गाह्रो भइसकेको क्षेत्रीय स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले जानकारी दिए । ‘स्थानीय तहलाई क्वारेन्टाइनको व्यवस्थापन चुनौती भइसकेको छ,’ उनले भने, ‘स्थानीय तहले आरडीटी जाँच बढाएर क्वारेन्टाइन बस्नेको संख्यामा कमी ल्याउनुपर्‍यो भन्छन् । यसो गर्न पनि किट र जनशक्ति अभावले सम्भव छैन ।’ उनले १४ दिन क्वारेन्टाइनमा राखेर लक्षण नदेखिएकालाई एक साता होम क्वारेन्टाइनमा बस्ने गरी पठाउनुको विकल्प नभएको बताए । स्कुल र खाली रहेका सबै भवन क्वारेन्टाइनमा बदल्दा पनि अपुग भइरहेको अवस्थीले बताए ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीका अनुसार चार दिनयता गौरीफन्टा नाकाबाट दिनहुँ ४ हजारभन्दा बढी आइरहेका छन् । यो क्रम अझै कम्तीमा एक साता थामिँदैन । भारतका विभिन्न सहरबाट सिधै बस बुकिङ गरेर नेपालीहरू सीमानाकामा पुग्ने गरेका छन् ।

दिल्लीबाट घर फर्केका बाजुराका रामबहादुर सेरलाले बस बुकिङ गर्न नपाएकाले अझै थुप्रै नेपाली उतै रहेको बताए । उनका अनुसार दिल्लीबाट मात्रै अझै ५० प्रतिशत आउन बाँकी छन् । ‘अहिले आएका ३० देखि ४० प्रतिशत मात्रै हुन्,’ उनले भने, ‘रोजगारी गुमेपछि फर्कनु बाध्यता भयो ।’ सीमानाकामा पुगेका नेपालीलाई सम्बन्धित जिल्ला र स्थानीय तहले बस पठाएर लैजाने गरेका छन् । यसरी लैजाँदा उनीहरूको सामान्य स्वास्थ्य जाँचसमेत गरिएको छैन ।

प्रकाशित : जेष्ठ १७, २०७७ १३:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?