१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

सेतीमा साताको २ दिन माछा मार्न प्रतिबन्ध

लकडाउनले गर्दा हुलका हुल मानिस नदीमा जान थालेपछि भएका माछा पनि सखाप हुने डरले प्रतिबन्ध लगाइएको संरक्षण समूहले जनाएको छ ।
वसन्तप्रताप सिंह

बझाङ — लकडाउनको समयमा अत्यधिक माछा मार्न थालिएपछि बझाङको सुवेडाका बासिन्दालाई माछा मार्ने कार्यमा कडाइ गरिएको छ । माछाको अस्तित्व नै संकटमा पर्न थालेको भन्दै सुवेडाका स्थानीयले सातामा दुई दिन माछा मार्न नपाइने निर्णय गरेका छन् । 

सेतीमा साताको २ दिन माछा मार्न प्रतिबन्ध

जयपृथ्वी नगरपालिका वडा नं ७ का करिब ८५ घरधुरी सदस्य रहेको तमैल कचाला धौलाबगर जलचर संरक्षण समूहले आफ्नो भूगोलभित्र पर्ने (धौलाबगरदेखि तमैलसम्म) सेती नदी र कचाली खोलामा सोमबार र बिहीबार माछा मार्न बन्देज लगाएको हो ।

कोभिड–१९ संक्रमणका कारण धेरै मानिस गाउँ फर्किएको र उनीहरुले दैनिक नदी खोलामा गएर माछा मार्दा जैविक विविधता नै बिग्रने अवस्था हुन थालेपछि माछा मार्न कडाइ गरिएको स्थानीयले बताएका छन् । ‘अहिले बाहिरका मानिस घर आएका छन् । लकडाउनले गर्दा धेरैजसो युवाको काम माछा मारेर दिन काट्ने भएको छ,’ समूहकी सचिव पूर्णिमा विकले भनिन्, ‘यति धेरै मान्छेले लगातार माछा मार्दा माछा नै सकिने चिन्ता भयो । हप्तामा दुई दिन भए पनि बन्द गर्न सके बिउ त बचाउन सकिएला भनेर यो निर्णय गरेका हौं ।’

निर्णय कार्यान्वयनका लागि समूहका सबै घरपरिवारमा सूचना जारी गरिएको अध्यक्ष सुरेन्द्र सिंहले बताए । उनका अनुसार साताको दुई दिन समुदायले गस्ती गर्ने व्यवस्था मिलाइएको छ । ‘उसै पनि सेतीमा पाइने धेरै प्रजातिका माछा लोप भइसकेका छन्,’ उनले भने, ‘लकडाउनले गर्दा हुलका हुल मानिस नदीमा जान थालेपछि भएका माछा पनि सखाप हुने डरले प्रतिबन्ध लगाएका हौं ।’ समूहको निर्णय उल्लंघन गर्नेलाई जयपृथ्वी नगरपालिकाको जलचर तथा जैविक विविधता संरक्षण ऐन २०७६ ले दिएको अधिकार प्रयोग गरेर कारबाही गरिने उनले बताए ।

बझाङको सेती नदीमा पाइने असला माछा स्वादका हिसाबले देशैभर प्रख्यात भए पनि पछिल्लो समय यसको संख्या निकै घटेको मछवारहरुले बताउने गरेका छन् । जालको प्रयोग, करेन्ट र विस्फोटक पदार्थको प्रयोग गर्दा साना माछा पनि मर्ने भएकाले यो निर्णय उचित भएको सुवेडाका कृष्णबहादुर थापाले बताए ।

प्रकाशित : जेष्ठ १६, २०७७ १८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?