१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

अपुग हुँदै सुदूरपश्चिमका क्वारेन्टाइन, बझाङ र बाजुराका बेड भरिए

भारतबाट आई सुदूरपश्चिमका नाकामा भित्रने नेपालीको ओइरो रोकिएको छैन । पछिल्लो डेढ सातामा गौरीफन्टा नाकाबाट मात्रै २८ हजार भित्रिएका छन् ।
मोहन बुढाऐर

धनगढी — सुदूरपश्चिम प्रदेशमा भारतबाट आउनेको संख्या बढ्दै गएपछि स्थानीय तहका क्वारेन्टाइन भरिँदै गएका छन् । बिहीबार बझाङ र बाजुरामा क्वारेन्टाइनको बेड संख्या अपुग भइसकेको छ ।  

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले स्थानीय तहका लगभग ८ सय ४३ वटा क्वारेन्टाइनमा रहेका २९ हजार ५ सय ६४ बेड अपुग हुने अवस्थामा पुगेको जनाएको छ । बिहीबारसम्म क्वारेन्टाइनमा बस्नेको संख्या २१ हजार ५ सय ६१ जना पुगिसकेको छ ।

निर्देशनालयका अनुसार बझाङका ९० वटा क्वारेन्टाइनमा रहेका सबै १ हजार ३ सय ७७ बेड भरिएका छन् । बाजुरामा पनि त्यस्तै छ । बाजुराका ७४ वटा क्वारेन्टाइनमा रहेका ८ सय ५१ बेडमा १ सय ८६ महिला र ६ सय ६१ पुरुषलाई राखिएको छ ।

अछाम, बैतडी, डडेल्धुरा, दार्चुला, डोटी जिल्लाका क्वारेन्टाइन पनि भरिँदै गएका छन् । भारतबाट दैनिक हजारौंको संख्यामा नेपाली भित्रिन थालेपछि क्वारेन्टाइनको व्यवस्थापन गर्न स्थानीय तहलाई हम्मे परिरहेको छ ।

दार्चुलामा ४२ वटा क्वारेन्टाइनमा रहेका ९ सय २० बेडमा बस्नेको ५ सय ७० जना पुगिसकेको छ । डोटीमा ८५ स्थानमा रहेका २ हजार ८ सय बेडमा डेढ बेडमात्र खाली छ । यहाँ बिहीबारसम्म २ हजार ६ सय ७० जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

अछाममा ९८ वटा क्वारेन्टाइमा २ हजार १ सय ४६ बेड छ । अब खाली ८ सय १२ मात्रै छन् । अछाममा अहिले १ हजार ३ सय ३४ जना क्वारेन्टाइनमा छन् । बैतडीमा १ सय ४ क्वारेन्टाइनमा ३ हजार ८४ जना रहेका छन् । कुल बेड संख्या ४ हजार ४१ मध्ये खाली ९ सय ५७ मात्रै छ । त्यस्तै डडेल्धुराका ९३ वटा क्वारेन्टाइनमा ४ हजार १ सय ९७ बेड भएकोमा २ हजार १ सय ७५ जना बसिसकेका छन् ।

सबैभन्दा धेरै बेडको व्यवस्था गरिएको कैलालीमा पनि ५ हजार २ सय ८५ पुगिसकेका छन् । यहाँ १ सय ७२ स्थानमा ७ हजार ८ सय ७५ जना क्षमताको क्वारेन्टाइन व्यवस्था गरिएको थियो । कञ्चनपुरमा भने ६ सय ९ जना क्वारेन्टाइनमा छन् ।

भारतका विभिन्न सहरबाट आई सुदूरपश्चिमका नाकामा भित्रने नेपालीको ओइरो रोकिएको छैन । पछिल्लो एक सातामा कैलालीको गौरीफन्टा नाकाबाट मात्रै २८ हजार नेपाली भित्रिएका छन् ।

स्वास्थ्य निर्देशनालयका निर्देशक गुणराज अवस्थीले किट अभावको कारण सीमा नाकामा गरिने आरडीटी जाँचलाई निरन्तरता दिन नसकेको बताए । उनीहरुको स्वास्थ्य जाँच स्थानीय तहको क्वारेन्टाइनमै गरिने उनले जानकारी दिए । क्वारेन्टाइन अपुग हुँदै गएको अवस्थामा परीक्षणको दायरासमेत नबढ्दा भारतबाट भित्रिएकाबाट कोरोना समुदायमा फैलिन सक्ने चिन्ता बढेको छ ।


प्रकाशित : जेष्ठ १५, २०७७ २१:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?