गड्डाचौकीबाट बिहीबार २४ सय बढी भित्रिए

चार दिनमा साढे ७ हजार भित्रिए
कान्तिपुर संवाददाता

कञ्चनपुर — कञ्चनपुरको गड्डाचौकी नाकाबाट बिहीबार २४ सय बढी नेपाली भित्रिएका छन् । भारतमा अलपत्र परेका नेपालीहरुलाई लागि नाका खुला गरिएको चौथो दिन २४ सय ५ जना भित्रिएका हुन् ।

‘गड्डाचौकी नाकाबाट भित्रिएका सबैलाई आ–आफ्नो स्थानीय तहमा पठाइसकिएको छ’ कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले भने, ‘यस जिल्लाकालाई पनि सबै स्थानीय तहका क्वारेन्टाइनमा पठाइएको छ ।’

भारतमा अलपत्र परेका नेपालहरुका लागि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जेठ १२ देखि गड्डाचौकी नाका खुला गरेको हो । ४ दिनमा यो नाकाबाट साढे ७ हजार नेपालीहरु भित्रिएको प्रशासनले जनाएको छ । पहिलो दिन जेठ १२ मा २७ सय जना भित्रिएका छन् । दोस्रो दिन ६९५ र तेस्रो दिन बुधबार १५ सय ८५ जना भित्रिएका हुन् ।

यो नाकाबाट भित्रिने सबैको दशगजामै विवरण संकलन गर्नुका साथै स्वास्थ्य जाँच गरेर सिधै आफ्नो जिल्लातर्फ पठाइँदैछ । कञ्चनपुर जिल्ला भित्रकाको हकमा सम्बन्धित स्थानीय तहमा पठाइँदैछ । ‘यो नाकाबाट भित्रिनेको चाप हेर्दा अझै केही दिन खुला राख्नुपर्ने देखिन्छ’ सहायक प्रजिअ उपाध्यायले भने । प्रशासनले कहिलेसम्म भित्रिन दिने भनेर मितिसमेत तोकेको छैन ।

बिहीबार नेपालमा रहेका १७१ भारतीय नागरिकहरुसमेत भारत फर्किएका छन् । बुधबार पनि २ सय बढी भारतीय नागरिकहरु फर्किएका थिए । नाका खुला गरिएको पहिलो र दोस्रो दिन पनि डेढ सय भारतीयहरु फर्किएका थिए ।

प्रकाशित : जेष्ठ १५, २०७७ १९:२०
प्रतिक्रिया
पठाउनुहोस्

ताप्लेजुङमा हाइड्रोको सामान बोकेको ट्रक दुर्घटना, चालकको मृत्यु 

आनन्द गौतम

ताप्लेजुङ — ताप्लेजुङमा निर्माणाधीन सानिमा मध्य तमोर जलविद्युत् आयोजनाको निर्माण सामग्री बोकेको ट्रक दुर्घटना हुँदा चालकको ज्यान गएको छ । आयोजनास्थल तर्फ आउँदै गरेको ना ६ ख ८२६२ नम्बरको ट्रक फुङलिङ नगरपालिका ९ हाङ्देवा कटहरेमा दुर्घटना भएको हो ।

दुर्घटनामा झापाको बाह्दसी गाउँपालिका ६ डाँगीवारिका चालक ज्ञानबहादुर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा परी सख्त घाइते भएका उनलाई उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको हो ।

ट्रक सडकदेखि करिब ५० मिटर तल खसेको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी प्रहरी निरीक्षक बिष्णुबहादुर खड्काले जानकारी दिए ।

प्रकाशित : जेष्ठ १५, २०७७ १९:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×