सुदूरपश्‍चिम प्रदेशसभामा विवाद जारी, दोस्रो दिनको बैठक अवरुद्ध- सुदूरपश्चिम - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुदूरपश्‍चिम प्रदेशसभामा विवाद जारी, दोस्रो दिनको बैठक अवरुद्ध

अर्जुन शाह

धनगढी — प्रतिपक्षी दलका सांसदहरुको नाराबाजीपछि सुदूरपश्‍चिम प्रदेशसभाको बुधबारको बैठक अवरुद्ध भएको छ ।

मंगलबारको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले लिपुलेक, लिम्पियाधुरालाई विवादित भूमि भन्ने शब्द प्रयोग गरेको भन्दै नेपाली कांग्रेस र जनता समाजवादीले बैठकमा अवरोध गरेका छन् । प्रतिपक्षी सांसदहरुको नाराबाजीपछि सभामुख अर्जुनबहादुर थापाले बैठक स्थगित गरेका छन् ।

बजेट अधिवेशन सुरु भएको पहिलो दिनदेखि नै विवाद उत्पन्न भएको हो । मंगलबार मन्त्री बोहराले ‘लिपुलेक लिम्पियाधुरा र कालापानी क्षेत्रलाई विवादित क्षेत्र’ उल्लेख गरेपछि सत्तारुढ दलकै सांसद दीर्घ सोडारीले आपत्ति जनाएका थिए । सांसद सोडारीको मागअनुसार सभामुखले उक्त शब्द रेकर्डबाट हटाउन लगाएका थिए ।

बुधबारको बैठक सुरु भएलगत्तै विवादित भूमि भनेकोमा मन्त्रीले माफी माग्नुपर्ने मागसहित प्रतिपक्षी दलहरुले प्रदेशसभाको बैठकमा अवरोध गरेका हुन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक गोविन्दराज बोहराले मन्त्रीको अभिव्यक्ति सरकारकै अभिव्यक्तिका रुपमा रहने भएकोले मन्त्रीले माफी माग्नुपर्ने बताए ।

प्रकाशित : जेष्ठ १४, २०७७ १५:४५
प्रतिक्रिया
पठाउनुहोस्

वाग्मती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित

सुवास विडारी

मकवानपुर — वाग्मती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

प्रदेश प्रमुख विष्णु प्रशाईंले मंगलबार प्रदेशसभामा पेश गरेको नीति तथा कार्यक्रम बुधबार बहुमतले पारित भएको हो । नीति तथा कार्यक्रमको पक्षमा नेकपा सांसद्हरु रहँदा विपक्षमा सदनमा प्रतिनिधित्व गर्ने अन्य दलहरु रहेका थिए ।

नीति तथा कार्यक्रममा सांसदहरु रमेश पौडेल, निमा लामा, प्रभात तामाङ, पुकार महर्जन, सन्तबहादुर प्रजा, रिता माझी, रिना गुरुङ र शोभा शाक्यले दर्ता गराएको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको छ ।

नीति तथा कार्यक्रममा विभिन्‍न दलका सांसदहरुले उठाएका प्रश्‍नहरुको जवाफ मुख्यमन्त्री डोरमणि पौडेलले दिएका थिए । उनले कोभिड–१९ रोकथामका लागि प्रदेश सरकारले काम गरिरहेको दाबी गरे । ‘हामीले हालसम्म १७ करोड रुपैयाँ खर्च गरिसकेका छौं । स्थानीय तहलाई आवश्यकताका आधारमा अझै थप बजेट उपलब्ध गराउनेछौं ’, मुख्यमन्त्री पौडेलले भने । उनले सांसदहरुले भने जस्तो कोरोना नियन्त्रणमा सरकार उदाशिन नभएको दाबी गरे ।

मुख्यमन्त्री पौडेलले प्रदेशका स्वास्थ्य संस्थाहरुको स्तरोन्नति र स्वास्थ्य क्षेत्रमा गर्ने कार्यहरु पनि नीति तथा कार्यक्रममा उल्लेख गरेको बताए । आगामी आर्थिक वर्षबाट प्रदेश सरकारले कृषि क्षेत्रमा दिँदै आएको अनुदान बैंकमार्फत् दिइने बताए । उद्योगीलाई राहत उपलब्ध गराउनका लागि प्रदेश सरकारले संघीय सरकारलाई आग्रह गरेको उनले बताए ।

कोरोना भाइरको जोखिमका कारण प्रदेशसभाको बैठकलाई छोट्याइएको थियो ।

प्रकाशित : जेष्ठ १४, २०७७ १५:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×