क्वारेन्टाइनबाटै संक्रमण फैलिने खतरा

डडेलधुरा सदरमुकामस्थित क्वारेन्टाइनमा आएकाहरूले पहिलो दिन ओढ्ने–ओछ्याउने समेत पाएनन् । उनीहरूले चिसो भुइँमै रात कटाए ।
डीआर पन्त

डडेलधुरा — क्वारेन्टाइन बनाइएको डडेलधुरा सदरमुकामस्थित महेन्द्र मावि पुग्दा सोमबार भारतबाट फर्केकाहरूको अवस्था दयनीय थियो । न सुत्ने राम्रो व्यवस्था छ न खाने । एउटै कोठामा भेडाबाख्राजसरी राखिएको भन्दै उनीहरू विद्यालयको गेटमा नाराबाजी गरिरहेका थिए ।

क्वारेन्टाइनबाटै संक्रमण फैलिने खतरा

मुम्बईबाट फर्किएकी अमरगढी नगरपालिका–१ की जमुना ऐरले शौचालयका कारण निकै सास्ती भोग्नुपरेको बताइन् । ‘पानीको व्यवस्था नहुँदा विद्यालयका सबै शौचालय भरिएका छन्, जताततै दुर्गन्ध मात्र छ,’ उनले भनिन, ‘क्वारेन्टाइनमा संक्रमण पर्खेर बस्नुबाहेक केही भएन ।’

जिल्ला प्रशासन कार्यालयनजिकैको क्वारेन्टाइनकै अवस्था यस्तो छ भने ग्रामीण क्षेत्रमा कस्तो होला, सहजै अनुमान लगाउन सकिन्छ ।

‘भारतबाट निकै सास्ती भोगेर मुस्किलले देश पस्न पाएको खुसी दुई मिनेटमा समाप्त भयो,’ मुम्बईबाटै फर्केका अर्का स्थानीय धर्मसिंह साउदले भने, ‘बरु भारतमा सुरक्षित थियौं, यहाँचाहिँ संक्रमित भइएलाजस्तो देखिएको छ ।’ क्वारेन्टाइनको सामान्य मापदण्डसमेत पूरा नगरी आफूहरूलाई भेडाबाख्राजसरी विद्यालयका कोठामा हुलिएको उनले गुनासो गरे ।

तीन दिनअघि कैलालीको सीमानाका गौरीफन्टाबाट गन्यापधुरा पुगेका मोहनसिंह ऐरले विद्यालयको नयाँ बनेको भवनमा रात बिताए । ‘सुत्नका लागि ओढ्ने–ओछ्याउनेको त कुरै छोडौं, सफा कोठासमेत थिएन’ उनले भने, ‘रातभरि रित्तो कोठामा भुइँमा बसेर बितायौं ।’ देश फर्केपछि बाँच्न सजिलो होला भनेको त यहाँ झन् बिजोग भएको उनले सुनाए ।

डडेलधुरा सदरमुकामका क्वारेन्टाइन मात्र होइन, जिल्लाभरि स्थानीय तहले बनाएका कुनै पनि क्वारेन्टाइनको अवस्था राम्रो छैन । स्थानीय तहले हरेक विद्यालयलाई क्वारेन्टाइन बनाएका छन् तर सामान्य मापदण्ड पनि अपनाइएको छैन । धेरैजसो स्थानीय तहले रासन र लत्ताकपडा समेत घरबाट ल्याउन सूचना जारी गरेका छन् । हरेक दिन गाउँ फर्कनेको चाप बढ्दै छ तर स्थानीय तहले कुनै पनि व्यवस्थापन गर्न सकेको देखिँदैन ।

डडेलधुरामा मंगलबारसम्म भारतबाट ३ हजार २ सय ९४ जना फर्किएका छन् । जिल्लाका ७ वटा स्थानीय तहले ७७ वटा क्वारेन्टाइन निर्माण गरेका छन् । यिनमा ३ हजार ८ सय व्यक्ति राख्न सकिने तथ्यांक उनीहरूले प्रस्तुत गरेका छन् । तर, आउनेजतिलाई विद्यालयका कोठामा पुर्‍याउनेबाहेक संक्रमण फैलिन नदिने कुनै पनि उपाय अपनाइएको छैन ।

क्वारेन्टाइन अनुगमन गर्ने जिम्मा पाएको जिल्ला प्रशासन कार्यालयले पनि यस विषयमा कुनै चासो देखाएको छैन । सहायक प्रजिअ गणेशराज ओझा एकैपटक धेरै व्यक्ति आएकाले समस्या भएको बताउँछन् । ‘कहीँ कतै कमीकमजोरी भएको हुन सक्छ,’ उनले भने, ‘समस्या छन्, समाधान पनि गरिँदै छ ।’ व्यवस्थापन तथा अनुगमन समितिको संयोजकसमेत रहेका ओझाले संक्रमण फैलिन नदिन भरसक प्रयास गरिरहेको दाबी गरे ।

प्रकाशित : जेष्ठ १४, २०७७ १२:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?