२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७४

आइसोलेसनमा बस्नेको गुनासो- 'खानासमेत दिँदैनन्'

‘खाजा त नदिने नै भनेका छन् । खानाको लागि कुपन दिएर आफन्तलाई पठाउँदा पनि त्यसै फर्काइदिन्छन् ।’
मेनुका ढुंगाना

अछाम —  मेल्लेख गाउँपालिकाकी २४ वर्षीया महिलाको र्‍यापिड डायग्नोस्टिक टेस्ट पोजिटिभ देखिएपछि बिहीबार बयालपाटा अस्पतालको आइसोलेसनमा राखियो ।  चार वर्षीय छोरासहित रहेकी उनको गुनासो छ- अस्पतालले खाना दिएन । हातमा कुपन थमाइदिएर क्यान्टिनमा पठाउने र क्यान्टिनमा खाना सकिएको भन्दै फिर्ता पठाउने गरेको उनले बताइन् ।

आइसोलेसनमा बस्नेको गुनासो- 'खानासमेत दिँदैनन्'

‘न त होटेलमा खाना पाइन्छ न अस्पतालमा,’ उनले भनिन्, ‘छोराले बेलाबेलामा खाना खोज्छ । म त कैदी जस्तो भएको छु, कहाँबाट छोरालाई खाना दिनु ?’ आइसोलेसनमा बसेका बिरामीलाई खाजा नदिने तर बिहान र बेलुकाको मात्रै खाना दिनेगरी कुपन दिएको उनले बताइन् ।

‘खाजा त नदिने नै भनेका छन् । खानाको लागि कुपन दिएर आफन्त पठाउँदा पनि त्यसै फर्काइदिन्छन्,’ उनले भनिन् ,‘खाना खान लागि पनि ठूलै पहुँच चाहिने रहेछ ।' खाना नदिएको गुनासो पत्रकारलाई गरेपछि शुक्रबार साँझ 'खान खान आउनु' भनेर बोलाएको उनको भनाइ छ । आइतबार दिउँसोसम्म पनि खाना नपाएको उनले बताइन् ।

आइसोलेसनमा भएका बिरामीलाई पोषणयुक्त खाना र हौसला दिनुपर्नेमा हतोत्साहित बनाइरहेको उनको आरोप छ । उनका अनुसार स्वास्थ्य जाँचको क्रममा शुक्रबार खकार चेक गर्न आए पनि त्यसपछि स्वास्थ्यकर्मी सम्पर्कमा आएका छैनन् ।

बयालपाटा अस्पतालका डाक्टर विकास गौचनले भने आइसोलेसनमा भएका बिरामीलाई खाना नदिनु अस्पताल क्यान्टिनबाटै कमजोरी भएको बताए । आरडीटी पोजिटिभपछि अस्पतालको आइसोलेसन वार्डमा आएकालाई कुपन दिएर खाना खुवाउन क्यान्टिनलाई ठेक्का दिएको उनको भनाइ छ । महिलाले भनेजस्तो बेवास्ता नभएको र बेलाबेलामा जाँच भइरहेको डा. गौचनले बताए ।

स्वास्थ्य कार्यालयका सूचना अधिकारी देव जोशीका अनुसार अस्पतालमा आमाछोरा गरी २ र जिल्ला अस्पताल मंगलसेनमा एकसमेत अछाममा ३ जना आइसोलेसनमा छन् । आइसोलेसनमा रहेका ३२ जना घर फर्किसकेका छन् । स्वास्थ्यकर्मीले समेत आइसोलेसनमा बसेकाहरुको वास्ता नगर्ने गरेको घर फर्किएकाहरुले समेत गुनासो गरे ।


प्रकाशित : जेष्ठ १०, २०७७ २२:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?