झुलाघाटबाट एकै दिन आए ३७८ जना
बैतडी — बैतडीको नेपाल–भारत सिमानाका झुलाघाटबाट शुक्रबार ३ सय ७८ जनालाई स्वदेश फर्काइएको छ । भारतको पिथौरागढसँगै विभिन्न स्थानमा अलपत्र परेका र क्वारेन्टाइनमा बसेकाहरूलाई पुल खोलेर प्रवेश गराइएको हो ।
केन्द्र सरकारको सहमतिमा जिल्ला प्रशासन कार्यालय र भारत सरकारको समन्वयमा उनीहरूलाई ल्याइएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले बताए । पुलको गेट दिउँसो साढे २ बाट साँझ साढे ५ बजेसम्म खोलिएको थियो ।
बैतडीसँगै सुदूरपश्चिमका विभिन्न जिल्ला र कर्णालीका कालिकोट, दैलेखलगायत जिल्लाका नागरिकहरू आएको जनाउँदै नेगीले ११ भारतीयलाई पनि पारि पठाइएको बताए ।
उनका अनुसार भारतबाट आएका बैतडीबासीलाई स्थानीय तहको समन्वयमा सम्बन्धित पालिकामा पठाइएको छ । अन्य जिल्लाकालाई भने केही दिन दशरथचन्द नगरपालिकाकै केही विद्यालयमा राख्ने र सम्बन्धित पालिकालाई खबर गरेर पठाउने तयारी छ । जिल्लाका पालिकाहरूले आआफ्ना नागरिकलाई क्वारेन्टाइनमा राख्नेछन् ।
भारतबाट आएकाहरूलाई ज्वरो नापेर प्रवेश गराइएको हो । कोरोनाका अन्य जाँच गरिएको छैन । उनीहरूलाई १४ दिन क्वारेन्टाइनमा राखी आरडीटी गरेर पठाइने बताइएको छ ।