झुलाघाटबाट एकै दिन आए ३७८ जना

जिल्ला प्रशासन र सीमावर्ती भारतीय प्रशासनकाे समन्वयमा तीन घण्टालाई सीमास्थित पुलको गेट खोलिएको हो
तृप्ति शाही

बैतडी — बैतडीको नेपाल–भारत सिमानाका झुलाघाटबाट शुक्रबार ३ सय ७८ जनालाई स्वदेश फर्काइएको छ । भारतको पिथौरागढसँगै विभिन्न स्थानमा अलपत्र परेका र क्वारेन्टाइनमा बसेकाहरूलाई पुल खोलेर प्रवेश गराइएको हो ।

केन्द्र सरकारको सहमतिमा जिल्ला प्रशासन कार्यालय र भारत सरकारको समन्वयमा उनीहरूलाई ल्याइएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले बताए । पुलको गेट दिउँसो साढे २ बाट साँझ साढे ५ बजेसम्म खोलिएको थियो ।

बैतडीसँगै सुदूरपश्चिमका विभिन्न जिल्ला र कर्णालीका कालिकोट, दैलेखलगायत जिल्लाका नागरिकहरू आएको जनाउँदै नेगीले ११ भारतीयलाई पनि पारि पठाइएको बताए ।

उनका अनुसार भारतबाट आएका बैतडीबासीलाई स्थानीय तहको समन्वयमा सम्बन्धित पालिकामा पठाइएको छ । अन्य जिल्लाकालाई भने केही दिन दशरथचन्द नगरपालिकाकै केही विद्यालयमा राख्ने र सम्बन्धित पालिकालाई खबर गरेर पठाउने तयारी छ । जिल्लाका पालिकाहरूले आआफ्ना नागरिकलाई क्वारेन्टाइनमा राख्नेछन् ।

भारतबाट आएकाहरूलाई ज्वरो नापेर प्रवेश गराइएको हो । कोरोनाका अन्य जाँच गरिएको छैन । उनीहरूलाई १४ दिन क्वारेन्टाइनमा राखी आरडीटी गरेर पठाइने बताइएको छ ।

प्रकाशित : जेष्ठ १०, २०७७ ०८:३१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

संक्रमितलाई अस्पताल ल्याउन खोज्दा स्थानीयको अवरोध

रुपा गहतराज

नेपालगन्ज — बाँकेको नरैनापुर गाउँपालिकामा शुक्रबार संक्रमण पुष्टि भएका १३ जनालाई नेपालगन्ज ल्याउँदा स्थानीयले अवरोध गरेका छन् । स्थानीयले गरेको अवरोधका बीच एक जना संक्रमित भागेका थिए । उनलाई शनिबार नियन्त्रणमा लिएर नेपालगन्ज ल्याइँदैछ ।

प्रहरीसहितको एम्बुलेन्सलाई बाटोमै अवरोध गरिँदा नरैनापुर गाउँपालिका वडा नं. ३ स्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय शंकरनगर कोटियाको क्वारेन्टाइनबाट संक्रमित भागेका थिए ।

नरैनापुर गाउँपालिकाका सूचना अधिकारी लक्ष्मीकान्त मिश्रका अनुसार भिडलाई थेग्न नसकेपछि सुरक्षाकर्मीसहितको एम्बलेन्सको टिमले श्रक्रबार १२ बजे १२ जनालाई लिएर फर्किएको थियो । एक जना संक्रमित गाउँमै लुकेर बसेको मिश्रले जानकारी दिए ।

भागेका एक जनालाई प्रहरीले नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालयमा प्रवत्ता तथा डीएसपी शिवबहादुर सिंहले बताए । ‘एक जनालाई पनि नियन्त्रणमा लिइसकेका छौं,’ उनले भने ,‘हाम्रो टिम उनलाई लिन जाँदैछ ।’ यसअघि पनि संक्रमित नेपालगन्ज ल्याउन स्थानीयले अवरोध गरेका थिए ।

शुक्रबार पुष्टि भएको संख्यासँगै बाँकेमा कोरोना संक्रमित भएकाको संख्या एक सय १५ पुगेको छ । नरैनापुरमा मात्र ८६जना नेपालगन्जमा २५, खजुरामा २ र राप्तीसोनारीमा एक जना संक्रमित भएका छन् । यीमध्ये नरैनापुरमा एक जनाको मृत्यु भइसकेको छ भने शुक्रबार नेपालगन्जमा २१जना निको भएर घर फर्किसकेका छन् ।

प्रकाशित : जेष्ठ १०, २०७७ ०८:२३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×