कैलालीका संक्रमितमध्ये भारतबाट लुकेर छिरेका पनि

मोहन बुढाऐर

धनगढी — कैलालीमा शुक्रबार कोरोना संक्रमण पुष्टि भएका ३ जना एक साताअघि मात्रै भारत, इटहरी र बाँकेबाट आएको खुलेको छ । 

कैलालीका संक्रमितमध्ये भारतबाट लुकेर छिरेका पनि

टीकापुर इलाका प्रहरी कार्यालयका डीएसपी मनोहर भट्टका अनुसार जानकी नगरपालिका-४ का २६ वर्षे युवक भारतको महाराष्ट्रबाट वैशाख ३१ गते कैलाली आएका थिए । उनी भजनी टीकापुरको सीमानाका तिकुने कालाकुण्डाबाट लुकेर प्रवेश गरेको खुलेको छ । ‘राति मोहना नदी तरेर आउँदै गर्दा सीमामा निगरानी गरिरहेका पुलिसले समातेर जेठ १ गते क्वारेन्टाइनमा राखेका थियौं,’ उनले भने ।

उनका अनुसार जानकी-७ का १९ वर्षे युवक भने इटहरीबाट मजदुरी गर्थे । यस्तै, सोही वडाका २३ वर्षे युवक वैशाख ३० गते लुकीछिपी कैलालीको चिसापानी नाकाबाट प्रवेश गरेको खुलेको छ । मालबाहक सवारी र पैदल यात्राबाट उनी चिसापानीसम्म पुगेको बुझिएको छ । तीनै जनाको ट्राभल हिस्ट्रीबारे थप अध्ययन भइरहेको डीएसपी भट्टले बताए ।

बुधवार तीनै जनाको थ्रोट स्वाब लिइएको थियो । सेती प्रयोगशालामा भएको परीक्षणमा उनीहरुको शुक्रबार कोरोना पोजिटिभ नतिजा आएको हो ।

संक्रमित टीकापुर अस्पतालमा

तीनै जनालाई टीकापुर अस्पतालमा भर्ना गर्ने लागेको डीएसपी भट्टले जानकारी दिए । उनीहरुको अवस्था सामान्य रहेको छ । सेती प्रादेशिक अस्पतालका सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेयले आफूहरु तयारी अवस्थामा रहेको बताए ।

सुदूरपश्चिमको बैतडी शिवनाथ गाउँपालिका र डडेल्धुराको पर्शुराम गाउँपालिकाका एकएक जनालाई पनि कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

आइसोलेसन कक्ष भरियो

सेती अस्पतालका सूचना अधिकारी दीलिपकुमार श्रेष्ठले कोरोनाका बिरामीका लागि तयार पारिएका २४ बेडको आइसोलेसन कक्षमा २३ जना भर्ना भएको जानकारी दिए । उनका अनुसार बुधबार र बिहीबार भारतका विभिन्न सहरबाट गौरीफन्टा नाका भएर भित्रिनेहरुमा गरिएको आरडीटी परीक्षणबाट संक्रमण पुष्टि भएका ११ र अन्य १२ जना शंकास्पद बिरामीलाई भर्ना गरिएको छ ।

‘कोरोना पोजिटिभका लागि ५ आईसीयू कक्ष पनि छन्,’ उनले भने, ‘५० बेडको कोरोना अस्पताल पनि तयार भइसकेकोले बिरामी भर्ना र उपचारमा भने समस्या छैन ।’

प्रकाशित : जेष्ठ ९, २०७७ १९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?