कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

नाकामा भिड ओइरिँदा व्यवस्थापन अस्तव्यस्त

गौरीफन्टाबाट बुधबार आएका ८ सय ५८ जनालाई परीक्षणै नगरी भित्र्याइयो
अर्जुन शाह

धनगढी — सीमामा भारतबाट फर्किएकाहरूको भिड लागेपछि प्रशासनले उनीहरूलाई कोरोना जाँचै नगरी जोखिमपूर्ण तरिकाले भित्र्याउन थालेको छ । लावालस्कर लागेर नाका पसेकाहरूलाई सामाजिक दूरीसमेत कायम गराइँदैन ।

नाकामा भिड ओइरिँदा व्यवस्थापन अस्तव्यस्त

भारतका विभिन्न ठाउँमा बसोबास गर्दै आएका नेपालीहरू बुधबार राति अबेरसम्म धनगढीको गौरीफन्टामा भिड लाग्दा सीमानाकामा खटिएका सुरक्षाकर्मी र जिल्ला प्रशासनका प्रतिनिधिलाई व्यवस्थापन गर्नै हम्मे पर्‍यो ।

‘उनीहरूको न कोरोना परीक्षण न त खाना र बसोबासको तयारी,’ अभिलेख संकलन गर्न खटिएका जिल्ला प्रशासन कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशीले भने, ‘अवस्था भयावह भयो ।’ कति जना आउँदै छन् भन्ने जानकारी नभएकाले समस्या समस्या परेको उनले बताए ।

नाकामा राति १० बजेसम्म एकपछि अर्को गर्दै १५ वटा गाडीमा सुदूरपश्चिमसहित विभिन्न जिल्लाका ८ सय ५८ जना गौरीफन्टा आइपुगेका थिए । किट अभावले उनीहरूको परीक्षण हुन नसकेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले बताए ।

कैलाली र कञ्चनपुरका स्थानीय तहले आफ्ना नागरिकलाई टिपरमा राखेर पालिकाका क्वारेन्टाइनमा लगेका थिए । अन्य जिल्लाकालाई धनगढीकै त्रिनगरस्थित नवदुर्गा माविको क्वारेन्टाइनमा राखिएको थियो । उनीहरूले तीन दिनदेखि भोकै रहेको बताए । भारतबाट आएकाहरूमध्ये बालबालिकादेखि वृद्धवृद्धासम्म थिए ।


‘उनीहरूलाई सम्बन्धित पालिकाको क्वारेन्टाइनमा राखिने भएकाले १४ दिनपछि आरडीटी टेस्ट गर्छौ’, महाशाखाप्रमुख कार्कीले भने, ‘सम्बन्धित पालिकाले जिम्मेवारी लिने गरी सोही अनुसारको समन्वय भएको हो ।’

आएका मध्ये कैलालीका ३ सय ६० र कञ्चनपुरका २ सय २० जना छन् । बाँकी जिल्लाका २ सय ७८ जनालाई नवदुर्गा माविमा राखिएको सशस्त्र प्रहरी ३४ नम्बर गण धनगढीका एसपी कमल तिमिल्सिनाले बताए ।

यसअघि सोमबार र मंगलबार पनि भारतका विभिन्न ठाउँबाट ठूलो संख्यामा नेपाली यसै नाकाबाट आएका थिए । यो साता झन्डै १ हजार २ सय जना भित्रिएको सुरक्षा निकायका प्रतिनिधिले बताएका छन् ।

प्रकाशित : जेष्ठ ८, २०७७ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?