कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

सुदूरपश्चिममा परीक्षण सुस्त

मोहन बुढाऐर

धनगढी — सुदूरपश्चिममा भारतबाट आउनेहरू बढे पनि उनीहरूको स्वास्थ्य परीक्षण हुन सकेको छैन । यसरी आएकाहरू सोझै गाउँ जाँदा संक्रमणको जोखिम बढेको छ ।

सुदूरपश्चिममा परीक्षण सुस्त

लुकिछिपी आएर क्वारेन्टाइनमा नबसेकाहरूको जाँच हुन नसकेको प्रदेश स्वास्थ्य निर्देशनालयका जन स्वास्थ्य अधिकृत ओमप्रकाश जोशीले बताए । ‘यसो हुँदा पूर्वमा जस्तो एकैचोटि समुदायमा संक्रमण फैलन सक्छ,’ उनले भने ।

सुदूरपश्चिममा वैशाख १ गते कैलाली, लम्कीकी एक महिलामा कोरोना पुष्टि भएयता थप संक्रमित देखिएका छैनन् । त्यसअघि चैत १४ गते अर्का एक व्यक्तिमा कोरोना पुष्टि भएको थियो । त्यो बीचको अवधिमा करिव १२ हजारजतिको आरडीटी गरिएको थियो । तर पछिल्लो एक महिनाको अवधिमा जम्मा ९ हजार आरडीटी गरिएको छ ।

प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्र कार्कीले किटलगायत स्रोतसाधन अभावमा कोरोना परीक्षणलाई गति दिन नसकिएको बताए । ‘क्वारेन्टाइनमा रहेका सबैको पीसीआरबाट परीक्षण गर्न हामीसँग किट नै पुग्दैन,’ उनले भने, ‘केस रिपोर्टिङ, आरडीटी पोजिटिभ र बिरामीको कन्ट्याक्ट ट्रेसिङमा आएका व्यक्तिहरूको मात्र पीसीआर गरेका छौं ।’

करिब ४ हजारको मात्रै परीक्षण

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार मंगलबार बेलुकासम्म पीसीआरबाट ३ हजार ९ सय ८३ जनाको मात्रै परीक्षण भएको छ । सेती प्रयोगशालामा १ हजार ४ सय २५ र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट २ हजार ३ सय १६ जनाको परीक्षण भएको हो । तीमध्ये ५ जना संक्रमित फेला परेकामा सबै निको भएर घर फर्किसकेका छन् । थ्रोट स्वाब संकलन भएका २ सय ३८ जनाको रिपोर्ट आउन बाँकी छ ।

चार जना संक्रमित फेला परेको कैलालीमा १ हजार ३ सय १९ जनाको मात्रै पीसीआर परीक्षण भएको छ । संक्रमित बस्दै आएको टोलका बासिन्दाकै नमुना संकलन नगरिएको स्थानीयको गुनासो छ ।

कैलालीमा धनगढी उपमहानगर–६ जाईका एकै परिवारका २ जना, लम्कीचुहा नगरपालिकामा २ जना र कञ्चनपुरमा एक जना संक्रमित भेटिएका थिए । जिल्लामा ४ सय २५ जनाको मात्रै पीसीआरबाट परीक्षण भएको छ ।

अछाममा २ सय ६७, बैतडीमा ४ सय ३५, बझाङमा १ सय ६७, बाजुरामा १ सय ६२, डडेल्धुरामा २ सय ७७, दार्चुला ४ सय ६२ र डोटीमा ३५० जनाको मात्रै कोरोना परीक्षण भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

१६ सयभन्दा बढी क्वारेन्टाइनमा

सुदूरपश्चिमको प्रमुख नाका गौरीफन्टाबाट सोमबार स्थानीय प्रशासनले साढे ४ सयभन्दा बढीलाई भित्र्यायो । उनीहरूलाई बसमार्फत आआफ्नो जिल्लाका स्थानीय तहमा पठाइएको छ । मंगलबार करिब २ सय जना कञ्चनपुरबाट भित्रिएका छन् ।

‘क्वारेन्टाइनमा बस्ने सर्तमा पठाएको भनिए पनि कति बस्छन्, कति बस्दैनन्,’ स्थानिय भेषबहादर साहूले भने, ‘यसअघि पनि लकडाउनमै भारत र देशका विभिन्न भागबाट भित्रिएका सबै जना क्वारेन्टाइनमा बसेका छैनन् । उनीहरू सबैको परीक्षण पनि भएको छैन ।’

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले भने ८८ वटै स्थानीय तहका करिब ४ सय क्वारेन्टाइनमा १ हजार ६ सय ७९ जना रहेको जनाएको छ । तिनमा महिला २ सय २५ जना छन् । विभिन्न अस्पताल र स्वास्थ्य केन्द्रमा गरी १३ जना आइसोलेसनमा छन् ।

प्रकाशित : जेष्ठ ७, २०७७ १३:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?