२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

सीमामा आएका नेपालीलाई भित्र्याइँदै, भारतीयलाई पठाइँदै

कैलालीको सीमावर्ती भारतीय क्षेत्रका क्वारेन्टाइनमा रहेकाहरुलाई शुक्रबारदेखि नेपाल ल्याउन थालिएको छ । यता रहेका भारतीय नागरिकलाई भने भारतीय पक्षको जिम्मा लगाइँदै छ ।
अर्जुन शाह

धनगढी — करिब दुई महिनादेखि कैलालीको सीमावर्ती भारतीय क्षेत्र पलियाका क्वारेन्टाइनमा रहेकाहरुलाई शुक्रबारदेखि नेपाल ल्याउन थालिएको छ । धनगढीका क्वारेन्टाइनमा राखिएका भारतीय नागरिकलाई भने भारतीय पक्षको जिम्मा लगाइँदै छ ।

सीमामा आएका नेपालीलाई भित्र्याइँदै, भारतीयलाई पठाइँदै

पलियाका चार वटा क्वारेन्टाइन जिल्ला पञ्चायत इन्टर कलेज, बलदेव वैदिक इन्टर कलेज, राजकीय कन्या इन्टर कलेजमा राखिएका ४ सय ७२ जनामध्ये सुदूरपश्चिमलगायत विभिन्न जिल्लाका १ सय ७७ जनालाई शुक्रबार भारतीय पक्षले गौरिफन्टा सीमा नाकासम्म पुर्‍याएको छ । गौरिफन्टामा नेपालतर्फबाट खटिएका स्वास्थ्यकर्मीले सबैको र्‍यापिड टेस्ट गरेर भित्र्याउने योजना रहेको कैलाली प्रशासन स्रोतले जनाएको छ । प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले यस सन्दर्भमा थप बताउन नसकिने जानकारी गराएका छन् ।

सुरक्षा स्रोतका अनुसार धनगढीका क्वारेन्टाइनमा राखिएका १ सय ८८ जना भारतीय नागरिकलाई भने भारतीय पक्षको जिम्मा लगाउन लागिएको छ । भारतबाट नेपाल आउनेहरुको अहिले गौरिफन्टास्थित डोके बजार क्षेत्रमा र्‍यापिड टेस्ट जारी रहेको छ । सबैको रिपोर्ट नेगेटिभ आएमा उनीहरुलाई कम्तीमा दुई साता क्वारेन्टाइनमा राख्ने योजना बनाइएको बुझिएको छ ।

भारतबाट आएका नेपालीलाई क्वारेन्टाइनमा राख्न सम्बन्धित स्थानीय तहलाई जिम्मेवारी दिइने स्रोतले बतायो । यस क्रममा कैलाली घर भएकाहरुलाई शुक्रबार नै सम्बन्धित स्थानीय तहमा पठाउने तयारी छ भने अन्य जिल्लाका बासिन्दालाई शुक्रबार कैलाली बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिने योजना छ ।

भारतीय क्षेत्रका क्वारेन्टाइनमा लामो समयदेखि रहेका नेपालीलाई उच्च स्वास्थ्य सतर्कता अपनाएर नेपाल भित्र्याउनुपर्ने दबाब बढ्दै गएको थियो । प्रदेश सरकार र प्रहरी प्रशासनले समेत उच्च सतर्कता अपनाएर उद्धार गर्नुपर्नेमा जोड दिँदै आएका थिए । तर संघीय सरकारले अनुमति नदिँदा उनीहरुलाई ल्याउन सकिएको थिएन ।

प्रकाशित : जेष्ठ २, २०७७ १८:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?