१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

पूरै सञ्चालनमा आएनन् खाद्य उद्योग

मोहन बुढाऐर

धनगढी — लकडाउनमा खाद्य उद्योगलाई बन्देज नलगाइए पनि कैलालीका उद्योग सुरुका दुई साता बन्द नै रहे । अहिले पनि सबै खाद्य उद्योग सञ्चालनमा आइसकेका छैनन् । उद्योगीले ५० प्रतिशत क्षमतामा उद्योग सञ्चालन भइरहेको बताएका छन् । खाद्यबाहेकका उद्योग–व्यापार त लगभग बन्दकै अवस्थामा छन् ।

पूरै सञ्चालनमा आएनन् खाद्य उद्योग

जिल्ला प्रशासनले संघीय सरकारद्वारा वैशाख २५ देखि सञ्चालन गर्न सकिने भनेका उद्योग खोल्न अनुमति दिइएको छ । ‘खाद्य उद्योगलाई सुरुदेखि नै सञ्चालनमा रोक थिएन,’ प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले भने, ‘तर अन्य उद्योग र निर्माण योजनाका काम पनि विस्तारै ससर्त अनुमति दिइरहेका छौं ।’

उद्योगी ओमप्रकाश अग्रवालले खाद्य उद्योग ५० प्रतिशत क्षमतामा मात्रै सञ्चालन गर्नुपरेको बताए । ‘खाद्य उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्न नसक्दा बजारमा केही दिनमै मागअनुसारको आपूर्तिमा समस्या देखिने भएको छ,’ उनले भने, ‘लकडाउनमा कामदार क्वारेन्टाइनमा राखेर पूर्ण क्षमतामा सञ्चालन गर्न सकेका छैनौं । अन्य अप्ठ्यारा पनि छन् ।’

नेपाल उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम समितिका अध्यक्ष शंकर बोगटीले धान चामल, गहुँ, दाल र तेलका उद्योग मात्रै सञ्चालनमा रहेको बताए । ‘ती पनि पूर्ण रूपमा सञ्चालनमा छैनन्,’ उनले भने, ‘खाद्यसँग सरोकार राख्ने चिनी, मैदा, चिउरा, नमकिन, बिस्कुटजस्ता उद्योग अझै चलेका छैनन् ।’ उनले सरकारले अन्य उद्योग–व्यवसायलाई दिने भनेको बैंकिङ कर्जाको ब्याजमा २ प्रतिशत छुटसमेत पाउन नसकेको बताए ।

चिनीलगायत उद्योगलाई कच्चा पदार्थ अभाव रहेको बोगटीले बताए । कतिपय खाद्य उद्योग उपकरण बिग्रिँदा बनाउने मिस्त्री र सामान नपाएर खुल्न सकेका छैनन् । खाद्य उद्योग पूर्ण क्षमतामा नचलाए खाद्यान्न किन्छु भन्दा पनि नपाइने अवस्था आउन सक्ने उनको भनाइ छ ।

बोगटीका अनुसार कैलालीमा खाद्य उद्योगमा ५० अर्बभन्दा बढी लगानी छ । यहाँ ७५ प्रतिशत उद्योग–व्यापार खाद्यसँगै सम्बन्धित छन् । सरकारले लकडाउनपछि अध्ययन समिति गठन गरेर कुन उद्योगले कति घाटा बेहोर्नुपर्‍यो, त्यसको आधार तयार गरी राहतलगायत सहुलियत दिनुपर्ने उनको भनाइ छ ।

प्रकाशित : वैशाख २८, २०७७ १२:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?