१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

सुदूरपश्‍चिममा किट आइपुग्यो, परीक्षण सुचारु

मोहन बुढाऐर

धनगढी — किट आइपुगेपछि सुदूरपश्चिममा रोकिएको कोरोना परीक्षण शनिबारदेखि सुरु भएको छ । सुदूरपश्चिम स्वास्थ्य निर्देशानालयका प्रमुख डा. गुणराज अवस्थीले शुक्रबार राति  ३८४ जनालाई पुग्ने आरएनए एक्सप्रेसन किट धनगढी आइपुगेको बताए ।

सुदूरपश्‍चिममा किट आइपुग्यो, परीक्षण सुचारु

‘धनगढी र नेपालगञ्जका लागि हेलिकप्टरबाट थोरै परिमाणमा ल्याइएको हो,’ उनले भने,‘ यसले रोकिएको परीक्षणलाई सुचारु राख्न मद्धत पुगेको छ ।’

किटको अभावमा विभिन्न जिल्लाबाट संकलित ५० भन्दा बढीको थ्रोट स्वाबको रिपोर्ट आउन सकेको थिएन । ‘शंकास्पद बिरामीको तत्काल परीक्षणका लागि मात्रै किट पुगेको हो,’ प्रमुख अवस्थीले भने, ‘आरडीटी किटलगायतका थप सामग्री छिट्टै आइपुग्छ ।’

यसअघि धनगढीको पशु अन्वेषण प्रयोगशाला स्थापना गरिएको आरटी पीसीआर मेसिनमार्फत हुने कोरोना परीक्षण किट अभावका कारण दुई दिन परीक्षण रोकिएको थियो । सुदू्रपश्चिमको समाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्र कार्कीले भने परीक्षणका लागि चाहिने किट आइपुगेसँगै परीक्षणलाई शनिबारदेखि बढाउने बताए ।

सुदूरपश्चिममा कोरोनाको उच्व जोखिम क्षेत्र मानेर सरकारले धनगढीमा प्रयोगशाला स्थापाना गरेको भए पनि किट र नमुना पर्याप्त भन्डारण गर्ने क्षमता नहुँदा परीक्षणलाई तीव्रता दिन सकिएको छैन ।

हालसम्म सुदूरपश्चिममा पीसीआरबाट २ हजार ९ सय २३ र आरडीटी विधिबाट १४ हजार ६ सय ९१ जनाको परीक्षण गरिएको छ । अहिलेसम्मको परीक्षणबाट ५ जनामा कोरोना संक्रमण देखिएको थियो । पाँचै जना सेती प्रादेशिक अस्पतालमा उपचारपछि घर फर्किसकेका छन । संक्रमितहरु निको भएर घर फर्केसँगै सुदूरपश्चिम अहिलेलाई कोरोनामुक्त भए पनि क्वारेन्टाइनमा बसेकाहरुको परीक्षण नगर्दासम्म जोखिम कायमै रहेको कार्की बताउँछन् । पछिल्लो समयमा क्वारेन्टाइनमा रहेका ३ हजार ५ सय ७३ जनाको परीक्षण गर्न बाँकी रहेको छ ।

प्रकाशित : वैशाख २७, २०७७ १०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?