सुदूरपश्चिममा संक्रमण स्थिर, तर उच्च जोखिम- सुदूरपश्चिम - कान्तिपुर समाचार

सुदूरपश्चिममा संक्रमण स्थिर, तर उच्च जोखिम

२६ दिनयता भारत र देशका विभिन्न भागबाट ५ हजारभन्दा बढी मान्छे भित्रिएका छन् । तिनको कोरोना परीक्षण गरिएको छैन । यसैबीच, परीक्षण किट पनि सकिएको छ ।
मोहन बुढाऐर

धनगढी — नयाँ वर्ष २०७७ को पहिलो दिन कैलाली लम्की चुहाकी ६५ वर्षीया एक महिलालाई कोरोना संक्रमण पुष्टि भएयता सुदूरपश्चिम प्रदेशमा थप संक्रमित फेला परेका छैनन् । कोरोना संक्रमणको अवस्था २६ दिनयता स्थिर देखिए पनि जोखिम नघटेको विज्ञहरुले बताएका छन् ।

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका अनुसार हाल सम्म पीसीआर विधिबाट २ हजार ९ सय ७८ र आरडीटी १४ हजार ५ सय ३९ जनाको परीक्षण गरिएको छ । जसमध्ये पीसीआरबाट ५ जना संक्रमित फेला परेका थिए । आरडीटीबाट १० जनालाई पोजेटिभ देखिएको भए पनि पीसीआरमा सबैको रिपोर्ट नेगेटिभ देखिएको थियो ।

संक्रमित ५ जनाको सेती प्रादेशिक अस्पतालमा राखेर उपचार सुरु गरिएकोमा ४ जना निको भएर घर फर्किसकेका छन् । एक जना धनगढी उपमहानगरपालिकाकी महिलामात्रै उपचारमा छिन् ।

धनगढी उपमहानगरपालिका-५ जाईका युवक सुदूरपश्चिमका पहिलो कोरोना संक्रमित हुन् । दुबईबाट फर्केका उनलाई चैत १४ गते कोरोना पोजिटिभ देखिएको थियो । उनी निको भएर घर फर्किसकेका छन् ।

पछिल्लो कोरोना संक्रमित लम्कीकी ६५ वर्षीया पनि ११ दिनमै निको भएर घर फर्किसक्दा धनगढीकी महिला भने ३४ दिनदेखि अस्पतालमै छिन् । राजधानीबाहिर पहिलो संक्रमित देखिएकी महिला धनगढीका संक्रमित युवककी भाउजू हुन् ।

छैटौं पटकको जाँचसम्म उनमा कोरोना पोजिटिभ देखिएको छ । तर स्वास्थ्यमा भने कुनै समस्या नदेखिएको चिकित्सकले बताएका छन् । सुदूरपश्चिममा संक्रमित भेटिएका देवर-भाउजूबाहेक अन्य सबैको क्वारेन्टाइनबाट स्वाब संकलन गरेर कोरोना परीक्षण गरिएको थियो ।

अन्य तीन संक्रमितमध्ये एक कञ्चनपुर बेदकोठ नगरपालिका र अर्का कैलाली लम्कीकै २१ वर्षे युवा हुन् । दुवै भारतबाट घर फर्केका थिए । लम्कीकै वृद्धा भने वीरगन्जबाट आएकी थिइन् ।

परीक्षण किट सकियो

चैत्र ११ गते लकडाउन सुरु भएपछि भारत तथा देशका विभिन्न भागबाट सुदूरपश्चिम प्रदेशमा भित्रिएका मध्ये २२ सयभन्दा बढीलाई क्वारेन्टाइनमा राखियो । सुदूरमा ५ जना संक्रमण फेला परेपछि र्‍यापिड डायग्नोस्टिक टेस्ट र पीसीआर विधिबाट कोरोना परीक्षणलाई तीव्रता दिइएको थियो । सेती प्रदेशिक अस्पतालमा त कोरोना परीक्षण प्रयोगशाला नै स्थापना गरियो ।

‘पछिल्लो २६ दिनदेखि सुदूरपश्चिममा थप संक्रमित नभेटिए फेरि सुदूरपश्चिमलाई बेवास्ता गरिएको देखियो,’ धनगढीका परमान्द भट्टले भने, ‘यो २६ दिनको अवधिमा भारत र देशका विभिन्न भागबाट ५ हजारभन्दा बढी मान्छे भित्रिएका छन् । तिनको कोरोना परीक्षण गरिएको छैन ।’

यसैबीच, धनगढीको पशु अन्वेषण प्रयोगशालामा हुँदै आएको कोरोना परीक्षण किटको अभावमा बिहीबारदेखि रोकिएको छ । विभिन्न जिल्लाबाट शंकास्पद ५५ जनाको थ्रोट स्वाबको नमुना संकलन गरी प्रयोगशालामा पठाइए पनि परीक्षण हुन सकेको छैन । प्रयोगशालाका एक जनाका अनुसार पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा पीसीआर किट र आरएनए एक्स्ट्रयाक्सन किट आवश्यक हुने गरेको छ । आरएनए किट सकिएपछि परीक्षण शुक्रबारदेखि रोकिएको उनले बताए ।

अहिले सुदूरपश्चिमका ८८ वटै स्थानीय तहमा भारत र देशका विभिन्न भागबाट आएका ३ हजार ५ सय ७३ जना क्वारेन्टाइनमा बसेका छन् । उनीहरुलाई परीक्षणबिना घर पठाउन सकिने अवस्था छैन । खेतीबाली लगाउने बेला उनीहरुलाई क्वारेन्टाइनमै धेरै दिन रोकिराख्न उचित नभएको स्थानीय जनप्रतिनिधिहरु बताउँछन् ।

सामाजिक विकास मन्त्रालयमा जनस्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले पछिल्लो समयमा भित्रिएकाहरुबाट कोरोनाको जोखिम बढाएको बताए । उनले भने, ‘परीक्षणको दायरा नबढाउन्जेल सुदूरपश्चिमको जोखिमको मापन गर्न सकिँदैन ।’ उनले किटको आपूर्ति शुक्रबार साँझबाट सुरु भएको बताए । ‘काठमाडौंबाट नेपालगन्ज र सुदूरपश्चिमका लागि आवश्यक किट हेलिकप्टरबाट ल्याइँदै छ,’ उनले भने, ‘परीक्षण भोलिदेखि नै सुरु हुन्छ ।’

प्रकाशित : वैशाख २६, २०७७ १६:०२
प्रतिक्रिया
पठाउनुहोस्

सिंहदरबार गेट अगाडि प्रहरी र चिनियाँ नागरिकबीच झडप, डिएसपीसहित ६ जना घाइते

मकर श्रेष्ठ, तस्बिर : अंगद ढकाल

काठमाडौँ — घर फर्कन माग गर्दै सिंहदरबारको मुख्‍य गेट अगाडि धर्ना दिन आएका चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको छ । झडपमा डिएसपीसहित ६ जना घाइते भएका छन् ।

शुक्रबार दिउँसो निषेधित क्षेत्रमा चिनियाँ नागरिकहरु जुलुससहित आएपछि झडप भएको हो । प्रहरीको लाठीचार्जबाट दुई चिनियाँ घाइते भएका छन् । सामान्य घाइते भएका उनीहरु अस्पताल जानसमेत नमानिरहेको प्रहरीले जनाएको छ ।

यस्तै चिनियाँ नागरिकको ढुंगा प्रहारबाट डीएसपी हरिबहादुर बस्‍नेतसहित ४ प्रहरी घाइते भएका छन् ।

अहिले चिनियाँ नागरिकहरु फुटपाथमा बसेर धर्ना दिइरहेका छन् । प्रहरीले उनीहरुलाई त्यहाँबाट हटाउन खोजे पनि हट्न मानिरहेका छैनन् ।

२० जनाभन्दा बढी रहेका उनीहरु 'वी वान्ट टू गो ब्याक होम' लेखिएको प्ले कार्ड बोकेर सिंहदरबार गेट अगाडि धर्ना बसिरहेका छन् ।

प्रकाशित : वैशाख २६, २०७७ १५:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×