सुदूरपश्चिममा ३ हजार ५ सय जना क्वारेन्टाइनमा

मोहन बुढाऐर

धनगढी — सुदूरपश्चिममा पछिल्लो समय देशकै विभिन्न सहर र भारतबाट आएका ३ हजार ५ सय ७३ जना क्वारेन्टाइनमा छन् । उनीहरूलाई सम्बन्धित स्थानीय तहकै क्वारेन्टाइनमा राखिएको हो ।

सुदूरपश्चिममा ३ हजार ५ सय जना क्वारेन्टाइनमा

सुदूरपश्चिम निर्देशनालयका अनुसार अछाममा १ सय ६४, बैतडीमा १ हजार ३ सय १९, बझाङमा ६ सय ८६, बाजुरामा ३ सय २२, डडेल्धुरामा ६९, दार्चुला ५ सय ५५, डोटीमा २, कैलालीमा ३ सय ४७, कञ्चनपुरमा १ सय ९ जना क्वारेन्टाइन छन् । तिनमा २ सय ७८ महिला छन् । आइसोलेसनमा भने सेती प्रादेशिक अस्पतालमा ४ जना मात्रै छन् ।

सरकारले यही साता बैतडी र दार्चुलाबाट नेपाल भित्रिएका दुई हजारभन्दा बढीलाई क्वारेन्टाइनमा राखेको हो । तर कतिपय पालिकाले आएजति सबैलाई क्वारेन्टाइनमा राख्न सकेका छैनन् । चिसापानी नाकाबाट मात्रै वैशाख महिनामा ५ हजारभन्दा बढी मानिस भित्रिएको तथ्यांक प्रहरीसँग छ ।

निर्देशनालयले हालसम्म आरडीटीबाट १४ हजार २ सय ४४ र पीसीआरबाट २ हजार ८ सय ९५ जनाको परीक्षण गरिएको जनाएको छ । तीमध्ये कैलालीमा ४ र कञ्चनपुरमा एक गरी ५ जनालाई कोरोना संक्रमण देखिएको छ । संक्रमितमध्ये १ जना मात्रै अहिले सेती प्रादेशिक अस्पतालमा उपचाररत छन् । बाँकी निको भएर घर फर्किसके ।

सुदूरपश्चिम प्रदेश कोरोनाको उच्च जोखिममा रहे पनि परीक्षणको गति भने सुस्ताएको छ । शंकास्पद बिरामीको मात्रै परीक्षण भइरहेकाले संख्या कम देखिएको निर्देशनालयले जनाएको छ ।

प्रकाशित : वैशाख २३, २०७७ १२:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?