नेपाल छिरेका १९ जना क्‍वारेन्टाइनमा बसेनन्

तृप्ति शाही

बैतडी — बिहीबार नेपाल-भारत सीमा बैतडीको झुलाघाट नाकाबाट प्रवेश गरेका १९ जना क्‍वारेन्टाइनमा नबसी घर गएका छन् । नाकाबाट आएका कुल १२ सय ९९ मध्ये २१ जना दशरथचन्द नगरपालिकाका थिए । उनीहरुमध्ये २ जना मात्र नगरपालिकाले निर्माण गरेको जगन्नाथ बहुमुखी क्याम्पसको क्‍वारेन्टाइनमा बसेका छन् । नगरपालिकाले पालिकाभरिकालाई एकै क्‍वारेन्टाइनमा राख्ने भनेर एउटा क्‍वारेन्टाइन मात्र निर्माण गरेको छ ।

प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले उनहरु बीचैमा हराएको बताउँदै खोजी भइरहेको बताए । दशरथचन्द नगरपालिकाका निमित्त प्रमुख प्रशासीय अधिकृत विक्रम चन्दले सुरुमा सबै जना क्‍वारेन्टाइनमै बसेको दाबी गरे । ‘धेरै जना आए । कोको घुसे कोको, थाहै भएन । तिनीहरुलाई खोज्न लगाएका छौं,' उनले भने ।

१९ जना क्‍वारेन्टाइनमा नबसेको भन्दै खोजी गरिदिन शुक्रबार बल्ल पालिकाले जिल्ला प्रहरी कार्यालयलाई पत्र पठाएको छ । सहयोगको लागि प्रहरी पठाउने तयारी भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेयले बताए ।

हुलमा छिरेको भनिए पनि बिहीबार दुरी कायम गरेर एकएक जनाको नाम टिपोट र स्वास्थ्य चेक गर्दै उताबाट आएकालाई नेपाल प्रवेश गराइएको थियो ।

सम्बन्धित निकायले हराएका भने पनि उनीहरुलाई नगरपालिकाका कर्मचारीहरुले घर पठाएको स्थानीयको दाबी छ । हिजै घर आएका उनीहरुमध्ये केही खुलेआम बजार क्षेत्रमा हिँडिरहेको स्थानीयले बताए । यसरी घर गएकामध्ये केही लकडाउनअघि नै भारत गएका थिए ।

प्रकाशित : वैशाख १९, २०७७ २०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?