कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

कामदार नहुँदा महाकाली पुल निर्माण सुस्त

भवानी भट्ट

कञ्चनपुर — लकडाउनले रोकिएको महाकाली नदीको पुल निर्माण फेरि अघि बढाइए पनि पर्याप्त कामदार नहुँदा काम सुस्त भएको छ । कोरोना परीक्षणपछि ५३ भारतीय कामदार खटिए पनि घर गएका अन्य कामदार फर्किएका छैनन् ।

कामदार नहुँदा महाकाली पुल निर्माण सुस्त

लकडाउनपछि पुलको काम पनि बन्द भएको थियो । उक्त अवधिमा नेपाली कामदार घर फर्किए । भारतीय कामदारलाई क्वारेन्टाइनमा राखियो । क्वारेन्टाइनमै उनीहरूको आरडीटी गरिएपछि वैशाख १० देखि काममा लगाइएको हो । ‘अहिले कामदार अभाव भएकाले अन्य सबै काम रोकेर स्ल्याब हालिँदै छ,’ निर्माण कम्पनीका इन्जिनियर किशोरराज पाण्डेयले भने, ‘बाटो र नाली निर्माणको काम सबै स्थगित छ ।’

महाकालीमा ४ लेनको पक्की पुलका लागि २७ वटा पिलरको जग निर्माण भएको छ । २० वटा पिलर पनि बनिसके । ८ सय मिटर लामो पुलमा ३४ पिलर हुनेछन् । ‘यो वर्ष कम्तीमा १२ वटा स्ल्याब हाल्ने योजना थियो तर ६ वटा पनि नसकिने अवस्था छ,’ इन्जिनियर पाण्डेयले भने, ‘कामदार मात्रै होइन, निर्माण सामग्री पनि अभाव हुन थालेको छ ।’

उनका अनुसार निर्माण सामग्री ढुवानीका लागि स्थानीय प्रशासनले पास उपलब्ध गराए पनि छड र सिमेन्ट ल्याउन समस्या भएको छ । कामदार नभएकाले लोड गर्नै दुई/तीन दिन लाग्ने गरेको पाण्डेयले बताए ।

पछिल्लो समय महाकालीमा जलस्तर बढेकाले निर्माणमा बाधा पुगेको छ । हिउँदमा समेत पानी बढी भएका कारण राम्ररी काम हुन सकेन । भारतीय पक्षले पश्चिमी क्षेत्रमा तटबन्ध बनाउन नदीको सबै पानी पूर्वी क्षेत्रमा छाडेकाले निर्माण स्थलसम्म कामदार र सामग्री ढुवानीमा समेत निकै समस्या भइरहेको थियो । नदीको तीन/चार ठाउँमा डाइभर्सन बनाएर निर्माण कार्य अघि बढाइएको थियो । यस्तोमा लकडाउनका कारण करिब एक महिना काम रोकिएको हो ।

गड्डाचौकीदेखि महाकाली नगरपालिकाको मलेरिया नालासम्मको साढे ८ किलोमिटर पहुंँच मार्ग निर्माणको काम पनि रोकिएको छ । निर्माण कम्पनीले यस वर्ष बेस बनाउने काम सक्ने लक्ष्य राखेको थियो । तर अहिले भरानको काम मात्रै सकिएको छ ।

पुलको दुवैतर्फ निर्माण हुने भनिएको पोखरीको काम पनि रोकिएको छ । केही समय ढुंगा र माटोको अभावमा काम रोकिएको थियो । पछि लकडाउनका कारण रोकिएको इन्जिनियर पाण्डेयले बताए । उनका अनुसार पोखरी निर्माणका लागि १ लाख ८० हजार घनमिटरको ढुंगा आवश्यक पर्छ । तर हालसम्म ८० हजार घनमिटर मात्रै प्राप्त भएको छ ।

‘यस वर्ष एकातिरको पोखरी निर्माणको काम सक्ने योजना थियो, त्यो पनि त्यतिकै रह्यो,’ उनले भने, ‘सुरुमा ढुंगा, माटो अभाव त अहिले लकडाउनले सबै ठप्प भयो ।’ पुलको दुवैतर्फ निर्माण हुने पोखरी १९ सय मिटर लम्बाइ र ६ सय मिटर चौडाइको हुनेछ ।

क्ञ्चनपुरको दोधारा–चाँदनीको महाकाली नगरपालिकालाई देशका अन्य भूभागसँग सडक सञ्जालले जोड्न र कञ्चनभोजमा निर्माण हुने भनिएको सुक्खा बन्दरगाहको पूर्वाधारका रूपमा यो पुल निर्माण हुन लागेको हो । २०७४ मा ३ वर्षभित्र काम सक्ने गरी कुमार श्रेष्ठ सीएफईसी जेभीसंँग ३ अर्ब २७ करोडमा ठेक्का सम्झौता भएको थियो । तोकिएको अवधिमा नसकिने भएपछि कम्पनीले गत वर्ष नै २७० दिन म्याद थप गरिसकेको छ ।

प्रकाशित : वैशाख १९, २०७७ १३:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?