बाहिरी जिल्लाबाट आएकालाई सोझै घर

वसन्तप्रताप सिंह

बझाङ — सातायता विभिन्न जिल्लाबाट बझाङ भित्रिएका सयौं मानिस विना कुनै स्वास्थ्य जाँच घर जान थालेका छन् । बाहिरबाट आएकाहरू यसरी निर्बाध रूपमा गाउँ पस्दा कोरोना संक्रमणको जोखिम बढेको भन्दै स्थानीय त्रस्त छन् ।

बाहिरी जिल्लाबाट आएकालाई सोझै घर

उनीहरूलाई संघ तथा प्रदेश सांसद, दलका नेताहरूको पहलमा ल्याइएको हो । शुक्रबारयता १ हजार २ सय १२ जना बझाङ आइसकेका छन् । तर, क्वारेन्टाइनमा बस्नेको संख्या १ सय ८६ जना मात्रै रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । अहिले वित्थडचिर गाउँपालिकामा १२, बुंगल नगरपालिकामा १८, छबिसपाथिभेरा गाउँपालिकामा ११८ जना क्वारेन्टाइनमा छन् । यस्तै साइपाल गाउँपालिकामा ९ र मष्टा गाउँपालिकाको क्वारेन्टाइनमा ३१ जना छन् ।

जिल्लाका सबै पालिकामा बाहिरबाट मानिस आएका भए पनि थलारा, खप्तडछान्ना, सुर्मा, केदारस्युँ, दुर्गाथली गाउँपालिका र जयपृथ्वी नगरपालिकाले एक जनालाई पनि क्वारेन्टाइनमा राख्न नसकेको प्रजिअ उमेश पाण्डेले बताए ।

बाहिरी जिल्लाबाट आएकाहरूलाई १४ दिन अनिवार्य क्वारेन्टाइनमा राख्ने सरकारको निर्णय भए पनि जनप्रतिनिधिले चासो नदिएको उनको भनाइ छ । ‘हामीले अनुरोध मात्र गर्ने हो, कार्यान्वायन गर्ने/नगर्ने त जनप्रतिनिधि हुन्,’ पाण्डेले भने । कतिपय साना बालबालिका भएकाले होम क्वारेन्टाइनमा बस्ने गरी छाडिएको उनले बताए ।

जिल्ला प्रहरी प्रमुख डिएसपी गणेश बमले पनि बाहिरबाट आएकाहरूलाई क्वारेन्टाइनमा राख्न जनप्रतिनिधि सक्रिय नभएको र धेरैले होम क्वारेन्टाइनमा बस्ने भनेकाले छोडिएको जानकारी दिए ।

हुलका हुल मानिस गाउँ पस्न थालेपछि स्थानीय भने संक्रमण फैलिन सक्ने चिन्तामा छन् । ‘संक्रमण फैलिएका जिल्लाबाट पनि मान्छे गाउँ आएका छन् । उनीहरू घरमा नबसेर फुक्काफाल गाउँ घुमिरहेका छन्,’ जयपृथ्वी नगरपालिकाका शिक्षक श्याम नेपालीले भने ।

बाहिरबाट आएकालाई निर्बाध रूपमा जिल्ला भित्र्याउनु र सोझै घर पठाउनु भनेको सरासर जोखिम निम्त्याउनु रहेको स्वास्थ्य कार्यालय बझाङका कोरोना सम्पर्क व्यक्ति नारायण जोशीको भनाइ छ । ‘तापक्रमसमेत ननापेर सोझै घर पठाइएको छ । यति ठूलो संख्यामा विभिन्न ठाउँबाट आएकालाई लापरबाहीपूर्वक छोड्नु जोखिमलाई निम्ता दिनु जस्तै हो,’ उनले भने ।

धेरैजसो घरमा दुई वा त्यसभन्दा बढी मानिस एउटै ओछ्यानमा सुत्ने, एउटै भाँडाकुँडा प्रयोग गर्ने भएकाले जिल्लामा होम क्वारेन्टाइन व्यावहारिक नभएको जोशीले बताए । ‘धेरैजसो घरमा एउटाले खाइसकेपछि त्यही थाल माझेर अर्कोले खानुपर्ने अवस्था छ । विदेशमा जस्तो होम क्वारेन्टाइनमा राख्छौं भन्ने कुरा बझाङको हकमा सम्भव छैन,’ उनले भने । न्यूनतम स्वास्थ्य सुविधासमेत नभएको जिल्लामा संक्रमण फैलिए नियन्त्रण गर्न कठिन हुने चेतावनी दिँदै जोशीले रोकथामको उपायमै जोड दिन सुझाएका छन् ।

प्रकाशित : वैशाख १८, २०७७ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?