कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

किसानले गहुँको सरकारी मूल्य पाएनन्

मोहन बुढाऐर

धनगढी — पश्चिम तराईका किसानले लकडाउनमै गहुँ काटेर भित्र्याए पनि उचित मूल्य र बजार पाएका छैनन् । सरकारले तोकेभन्दा सस्तोमा गहुँ बेच्नुपरेको उनीहरूको गुनासो छ ।

किसानले गहुँको सरकारी मूल्य पाएनन्

प्रतिक्विन्टल २ सय रुपैयाँ सस्तोमा बेच्नुपरेको कैलाली, थापापुरका गंगा चौधरीले बताए । ‘गहुँको मूल्य गाउँघरमा २८/२९ सय प्रतिक्विन्टल छ,’ उनले भने, ‘बिचौलियाले तोकेको मूल्यमा बेच्नुपरेको छ ।’ सरकारले गहुँको मूल्य प्रतिक्विन्टल ३ हजार १५ निर्धारण गरेको छ ।

कैलारी भितरियाका कुलराज चौधरीले बेमौसमी वर्षाले यस वर्ष गहुँको उत्पादन पनि कम भएको बताए । ‘उत्पादन कम भएको छ, किसानले मूल्य पनि पाउन सकेका छैनन्,’ उनले भने, ‘किसानलाई धानको बीउ र मलका लागि पैसाको खाँचो परेको छ ।’ सरकारी काँटा नलाग्दा किसानले गहुँको उचित मूल्य पाउन नसकेको उनको भनाइ छ ।

नेपाल खाद्य संस्थान प्रदेश कार्यालय धनगढीका कर्मचारी धर्मराज पन्तले केन्द्रीय निर्देशन नआएकाले गहुँ खरिद नगरेको बताए । ‘केन्द्रले नै गहुँ कहिले र कति परिमाणमा खरिद गर्ने भन्ने निर्णय गर्छ’ उनले भने, ‘अहिलेसम्म कुनै निर्णय भएको छैन ।’

किसान चौधरी भने संस्थानले जहिले पनि किसानको धान/गहुँ सकिएपछि गाउँमा काँटा (खरिद केन्द्र) लगाउने गरेको बताउँछन् । किसानले बेचिसकेपछि संस्थानले बिचौलिया र व्यापारीबाट खरिद गर्ने गरेको उनको आरोप छ । ‘संस्थानका कर्मचारी र खाद्य व्यापारीको मिलेमतो हुने गरेको छ,’ उनले भने, ‘जब किसानको गहुँ/धान सकिन्छ, त्यसपछि संस्थानले व्यापारीबाट उठाउँछ ।’

कैलाली सुदूरपश्चिममै सबैभन्दा बढी धान र गहुँ उत्पादन गर्ने जिल्लामा पर्छ । कृषि ज्ञान केन्द्रका हरि जोशीका अनुसार जिल्लामा ३४ हजार ५ हेक्टर क्षेत्रफलमा गहुँबाली लगाइएको छ । ‘लकडाउनका कारण कति उत्पादन भयो, यकिन गर्न सकिएको छैन,’ उनले भने, ‘गत वर्षकै हाराहारी उत्पादन भएको हुनु पर्छ ।’

बीउ र मल अभाव

किसानले धानको बीउ र मल पनि पाउन नसकेको बताएका छन् । ‘धानको बीउ (बेर्ना) राख्ने बेला पानी परेको थियो,’ थापापुरका सुनील कठरियाले भने, ‘तर बजारमा बीउ पाउन समस्या छ ।’ उनले लकडाउनका कारण टाढा बीउ खोज्न जान नसकेको बताए ।

किसान बहुउद्देश्यीय सहकारी संस्था प्रतापपुरका जग्गुनारायण चौधरी अहिले दिनदिनै किसान मल र बीउका लागि धाउने गरेको बताउँछन् । ‘मल र बीउको आपूर्ति गर्ने कृषि सामग्री कम्पनी लिमिटेडले वैशाख २० पछि सम्पर्क गर्नू भनेको छ,’ उनले भने, ‘अहिले पानीसमेत परेकाले धानको बेर्ना राख्न किसान आतुर छन् । तर बीउ पाएका छैनन् ।’

कृषि सामग्री कम्पनी लिमिटेडका रूपबहादुर कुँवरले लकडाउनका कारण किसानले समयमा मल र बीउबिजन पाउन नसकेको बताए । ‘पर्याप्त मात्रामा नभए पनि भएको मल र बीउबीजन विक्री–वितरण गर्न सकिएको छैन,’ उनले भने, ‘स्थानीय प्रशासनले लकडाउन पालना नहुने भन्दै अहिल्यै अनुमति दिन मानिरहेको छैन ।’

उनका अनुसार कम्पनीको गोदाममा अहिले डीएपी १५ सय, युरिया २६ सय र पोटास ३ हजार ५ सय टन मौज्दात छ । कम्पनीसँग आफैंले कैलाली र कञ्चनपुरमा उत्पादन गरेको धानको बीउ ९० मेट्रिक टन छ । तर, कैलाली र कञ्चनपुरका लागि मात्रै करिब ४ हजार मेट्रिक टन चाहिन्छ । केही निजी कृषि फर्मले पनि धानको बीउ बिक्री गर्ने भएकाले आफ्नो संस्थाले १५ सय मेट्रिक टनजति मात्र आपूर्ति गर्ने गरेको कुँवरले बताए ।

प्रकाशित : वैशाख १६, २०७७ १२:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?