कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

लकडाउनको मौका छोपी तस्करद्वारा वनमै काठ चिरानी

मोहन बुढाऐर

धनगढी — लकडाउनको मौका छोपी काठ चोरीतस्करीमा संलग्न समूहले कैलालीको जंगलमा घुम्ती आरा मेसिन सञ्चालन गरी वन फडानी गरेको खुलेको छ।

लकडाउनको मौका छोपी तस्करद्वारा वनमै काठ चिरानी

तस्करले जंगलमै काठ चिरान गरेर चोरी निकासी गरिरहेको धनगढी वन डिभिजन कार्यालयका प्रमुख रामचन्द्र कँडेलले बताए। ‘खडा रुख काट्न/चिर्न मिल्ने र बोकेर लैजान सकिने सानो औजारको प्रयोग गरेर जंगलभित्रै आरामिल चलाएको देखियो। त्यस्तो समूहको खोजीमा छौं।’ लकडाउनका कारण धेरै गस्ती परिचालन गर्न नसकिएको उनको भनाइ छ।

कैलालीका विभिन्न ठाउँबाट गोलिया र चिरानको एक हजार क्युफिटभन्दा बढी काठ डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरले बरामद गरेको छ।

‘सरकारले लकडाउनको अवधिमा अन्य सेवाका कार्यालयका कर्मचारीलाई घरमै बस भनेजस्तो गरेको छ,’ उनले भने, ‘यो महामारीको बेला वनका सुरक्षाकर्मीलाई परिचालन गर्न स्वास्थ्य सामग्री र बिमासमेत छैन।’

डिभिजन वन कार्यालय धनगढीका अनुसार यसै साता कैलालीको चौमालाको जंगलमा भइरहेको चिरानको १ सय ५ क्युफिट काठ स्थानीयको सूचनाका अधारमा वन सुरक्षाकर्मीले बरामद गरेका थिए। मंगलबार उर्मामा ६० क्युफिट गोलिया बरामद भएको छ।

यसअघि चैत्र २८ गते गोदावरी वनमा चिरान भएको १४ क्युफिट र गोलिया ६४ क्युफिट बरामद गरी ९ जनालाई मुद्दा दायर गरिएको थियो। लकडाउनले हिरासतमा राख्ने ठाउँ नभएर तारेखमा छोडिएको प्रमुख कँडेलले बताए।

कैलालीको चुरेसँग जोडिएको गोदावरीमाथिको जंगलमा बढी काठ तस्करी भएको कँडेल बताउँछन्। कैलालीको गोदावरी, उर्मा, फूलबारी, बाह्वनमाथिको चुरे क्षेत्र र पहलमानपुर डिभिजनअन्तर्गत घोडाघोडी करैया, बर्दगोरिया गाउँपालिकाको चुरे फेद, टीकापुर, सुख्खड र चिसापानी क्षेत्रका जंगलमा पनि काठ चोरीतस्करी भइरहेको छ।

‘लकडाउनले स्थानीय समिल बन्द भएकाले तिनका केही सिपालु कामदारलाई समेत काठचोरी तस्करले प्रयोगमा ल्याएका छन्,’ सहायक वन अधिकृत राजीव चौधरीले भने, ‘गाउँका बेरोजगार युवा यतिबेला झनै सस्तो श्रममा उपलब्ध हुने गरेका छन्।’

प्रकाशित : वैशाख १५, २०७७ १६:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?