सुदूरपश्चिममा झण्डै १० हजारको जाँच

अर्जुन साह

धनगढी — सुदूरपश्चिममा कोरोना भाइरसको संक्रमण भए/नभएको थाह पाउनका लागि पीसीआर र आरडीटी विधिबाट गरी मंगलबारसम्म झण्डै १० हजारको परीक्षण गरिएको छ । 

सुदूरपश्चिममा झण्डै १० हजारको जाँच

मंगलबारसम्म ९ हजार ९ सय ३१ जनाको परीक्षण गरिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । यीमध्ये ७ हजार ३ सय ७ आरडीटी र २ हजार ६ सय २४ पीसीआर टेस्ट भएको निर्देशनालयका स्वास्थ्य निरीक्षक हेमराज जोशीले बताएका छन् । परीक्षण गरिएकामध्ये सात जनाबाहेक सबैको रिपोर्ट आइसकेको छ । सात जनाको पीसीआर रिपोर्ट आउन बाँकी छ ।

परीक्षण गरिएकामध्ये पाँच जनामा संक्रमण देखिएको छ । तीमध्ये एक जना आइतबार निको भएर सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । दुई पुरुष र दुई महिलाको उपचार भइरहको छ । आरडीटी टेस्टमा २ जनामा पोजिटिभ देखिएको छ । डडेल्धुरा र बाजुराका एक/एक जनामा पोजिटिभ देखिएको हो । अन्य तीन जनाको आरडीटी टेस्ट रिपोर्ट गलत देखिएको निर्देशनालयको भनाइ छ । जोशीका अनुसार हालसम्म सबैभन्दा बढी आरडीटी टेस्ट कैलालीमा ३ हजार ३ सय २७ जनाको परीक्षण गरिएको छ । दोस्रोमा डोटीमा धेरैको परीक्षण गरिएको छ । डोटीमा हालसम्म १ हजार २ सय २३ जनाको परीक्षण भएको डोटीका स्वास्थ्य कार्यालय प्रमुख रमेश मलासीले बताए ।

तेस्रोमा बाजुरा छ । बाजुरामा हालसम्म ६ सय ५३ जनाको परीक्षण गरिएको छ । यस्तै कञ्चनपुरमा ५ सय ४७, बझाङमा ४ सय ८६, दार्चुलामा ४ सय ३९, अछाममा ३ सय ४४, बैतडीमा २ सय २१ र सबैभन्दा कम डडेल्धुरामा ६७ जनाको आरडीटी टेस्ट गरिएको छ । हाल सुदूरपश्चिममा १० हजार बढी किट्स मौज्दात रहेको निर्देशनालयले जनाएको छ ।

क्‍वारेन्टाइनमा १६ सय जना

अहिले सुदूरपश्चिमका ९ वटै जिल्लामा गरी १ हजार ६ सय १० जना क्‍वारेन्टाइनमा छन् । यीमध्ये महिला १ सय ७६ जना रहेका छन् । आइतबारसम्म क्‍वारेन्टाइनमा रहेकाहरुमा सबैभन्दा बढी कैलालीमा १ हजार ६५ जना छन् । सबैभन्दा कम डोटीमा छन् । डोटीमा २ जना मात्र क्‍वारेन्टाइनमा रहेका छन् । डडेल्धुरामा ९, अछाममा २२, बाजुरामा २८, बझाङमा ३२, दार्चुलामा १ सय १९, बैतडीमा १ सय २४ जना रहेका छन् ।

प्रकाशित : वैशाख ९, २०७७ २०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?