कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

आफन्त फर्किने आसमै बित्छ दिन

मेनुका ढुंगाना

अछाम — ढकारी गाउँपालिका-३ की नन्दा बुढालाई कोरोना भाइरस रोग फैलिएपछि चिन्ता बढ्दै गएको छ। उनका छोरा र श्रीमान् कामको सिलसिलामा भारतमै बस्छन्। प्रत्येक दिन छोरा र श्रीमान्‌सँग उनको फोन सम्पर्क हुन्छ। जसरी पनि फर्केर आउन उनले आग्रह गरिरहेकी छन्।

आफन्त फर्किने आसमै बित्छ दिन

‘बम्बैमा कोरोना रोग आयो भन्ने हल्ला छ। चिन्ता लागिरहन्छ। काम छोडेर घरमा आउन भनिराखेका छौं,’ उनले भनिन्, ‘गाउँका पुरुषजति सबै उतै छन्। यहाँ परिवारलाई तनाव भएको छ।’ उताबाट श्रीमान् र छोराले घर आउन खोजिरहेको उनले बताइन्।

मंगलसेन ५ की जमुना जैशीका छोरा कामको खोजीमा भारत गएको एक वर्ष हुनै लाग्यो। कक्षा १० को परीक्षा दिएर मुम्बई गएका उनी बीचमा पनि फर्किएनन्। पहिलेभन्दा अहिले धेरै फोन गर्छिन् जमुना। 'उताबाट छोराले चिन्ता नगर्नु भन्दा पनि मन मान्दैन। चाँडो घर आएको भए ढुक्क हुन्थेँ,’ उनले भनिन्, ‘छोरा घर फर्किसकेपछि जानै दिनेथिनँ। अहिले मेरो भोक र निद्रा सबै हराएको छ।’

मंगलसेन नगरपालिका-७ की पारु जैशीका छोरा र श्रीमान् पनि भारतमै छन्। भारतका विभिन्न सहरमा कोरोना भाइरसले संक्रमण गरेका व्यक्ति भेटिएको खबर सञ्चारमाध्यममा सुनेपछि उनी आत्तिएकी छिन्। ‘१० वर्ष पहिले एचआईभी एड्स देखियो भनेर यसैगरी गाउँमा डर र त्रास मात्रै थियो। अहिले ठ्याक्कै त्यस्तै अवस्था आएको छ,’ उनले भनिन्, ‘पहिले नै सबै गाउँ फर्किने बेला बोलाएकी हुँ तर आएनन्।’

गाउँगाउँमा सबैले मोबाइल फोनको प्रयोग गर्नु र सञ्चारमाध्यमले पनि प्राथमिकतामा राखेर जानकारी गराएपछि त्रास बढेको मंगलसेन नगरपालिका ५ की तारा भाट बताउँछिन्। ‘धेरैजसोका श्रीमान् अझै भारतमा नै छन्। उता केही भइहाल्छ कि भन्ने त्रास छ। यता गाउँमा रुघाखोकी लाग्दा पनि कोरोना भाइरस नै हो कि भन्ने चिन्ता गर्छन्,’ उनले भनिन्, ‘यतै काम पाए बम्बै जान पर्दैनथ्यो। यस्तो तनाव पनि हुने थिएन।’

उनी जनप्रतिनिधिदेखि पनि रुष्ट छिन्। ‘चुनावको बेला बम्बै गएका सबैलाई गाडी रिजर्भ गरेर भोट हाल्न बोलाएका थिए। अहिले यत्रो आपत परेको छ। कसैलाई वास्ता छैन,’ उनले भनिन्।’

२०६८ सालको जनगणनाअनुसार ४८ हजार घरधुरी रहेको अछामका प्रायः सबै घरबाट रोजगारीको सिलसिलामा भारत पसेको तथ्यांकले देखाउँछ। भारतमा कोरोनाको संक्रमण महामारीको रुपमा देखिसकेपछि अछाम धेरै प्रभावित हुने स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगानाले बताए। ‘अहिलेसम्म त्यति डराउनुपर्ने अवस्था छैन। तर सजग रहनुपर्छ। भारतमा यसले विकराल रुप लियो भने त्यसको प्रत्यक्ष प्रभाव अछाममा पर्छ,’ उनले भने, ‘पहिले ज्वरो रुघाखोकी लाग्दा सामान्य लिनेहरु अहिले स्वास्थ्य संस्थाहरुमा पुग्न थालेका छन्।’

भारतमा स्थिति तनावपूर्ण

कामको सिलसिलामा सबैभन्दा धेरै अछामी रहेको छिमेकी मुलुकमा कोरोना संक्रमणका बिरामी देखिन थालेपछि नेपाली चिन्तित हुन थालेका छन्। महाराष्ट्र प्रदेशको बिरारबाट कान्तिपुरको फोन सम्पर्कमा आएका कमलबजार नगरपालिका ५ का चक्र तिमिल्सेनाले भारत लकडाउन भइसकेपछि धेरै नेपाली मजदुर अलपत्र रहेको बताए।

‘काम गरेर साहुकोमा रात कटाउनेहरु अहिले अलपत्र परेका छन्,’ उनले भने, ‘कहिलेसम्म यस्तो त्रास रहन्छ केही थाहा नभएकाले धेरै नेपाली आत्तिएका छन्। म बस्ने ठाउँमा मात्रै कमलबजार र बिनायकका ४ सय जना छौं। सबैको अवस्था दयनीय छ।’

उनका अनुसार भारतमा बस्ने नेपालीहरुका विभिन्न संघसंगठनमा नेपाल फर्कन गुहार मागिरहेका छन्। तिमिल्सेनाका अनुसार धेरै अछामीहरु भारतका पुणे, बसै, नाला, सुपार, बम्बै, मलार र बोरुली लगायतका ठाउँमा छन्।

प्रकाशित : वैशाख ९, २०७७ १८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?