१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

संक्रमितको उपचार गर्न धनगढीमा बेग्लै भवन बन्दै

अर्जुन शाह

धनगढी — कोरोना संक्रमितको उपचार गर्न धनगढीमा ५० शय्याको बेग्लै भवन बनाउन काम सुरु भएको छ । प्रि–फ्याब प्रविधिको उक्त भवन २० दिनभित्र बनाइसक्ने तयारी छ ।

संक्रमितको उपचार गर्न धनगढीमा बेग्लै भवन बन्दै

सेती प्रादेशिक अस्पतालनजिकैको भवन निर्माणस्थलमा आइतबार मुख्यमन्त्री त्रिलोचन भट्ट र सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले स्थलगत अनुगमन गरेका छन् । उनीहरूले निर्माणकार्यमा संलग्न ठेकेदारलाई चाँडोभन्दा चाँडो काम सक्न निर्देशन दिए ।

अहिले प्रसूति सेवालगायत अन्य बिरामीको उपचार सेती अस्पतालमै हुने गरेको छ । एउटै भवनभित्र कोरोना संक्रमितको परीक्षण तथा उपचार गर्दा संक्रमण फैलन सक्ने चिकित्सकहरूले बताउँदै आएका छन् । अस्पतालका प्रवक्ता जगदीश जोशी भन्छन्, ‘कोरोना भाइरसबाट संक्रमित बिरामीलाई एकै हाताभित्र राख्दा अरू बिरामीलाई पनि जोखिम छ ।’

हाल कैलाली र कञ्चनपुरमा भेटिएका कोरोना संक्रमित पाँचमध्ये चार जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । एक जना निको भएर घर गइसकेका छन् ।

सुदूरपश्चिममा कोरोनाका बिरामी बढ्न सक्ने देखिएपछि प्रदेश सरकारले सेती र महाकाली प्रादेशिक अस्पतालमा बेग्लै भवन निर्माण गर्ने निर्णय गरेको थियो । त्यसका लागि ५०–५० शय्याको प्रि–फ्याब भवन तथा वार्ड निर्माण गर्न सामाजिक विकास मन्त्रालयले चैतमा दुवै अस्पताललाई एक–एक करोड निकासा दिएको थियो । धनगढीमा स्वास्थ्य कार्यालयले उक्त भवन निर्माणको नेतृत्व गरिरहेको छ ।

उक्त प्रि–फ्याब भवन ९४ लाखमा निर्माण सम्पन्न गर्ने गरी किनारा कन्स्ट्रक्सनले निर्माणको जिम्मेवारी लिएको छ । निर्माण ठेकेदार रोहित रानाले अबको २० दिनभित्र भवन हस्तान्तरण गर्ने गरी दिनरात काम गरिरहेको बताए । कञ्चनपुरको महाकाली अस्पतालमा भने निर्माण सम्झौता हुन बाँकी छ ।

प्रकाशित : वैशाख ८, २०७७ १०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?