३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

कोरोना जितेका युवा भन्छन्- ‘आत्मबल नघटाउनुस्, अवश्य सन्चो हुन्छ’

निको भएर घर फर्किने चौथो संक्रमित
अर्जुन शाह

धनगढी — ‘सुरुका दिन अलिकति डर लागेको थियो । तर पछिपछि त आत्मबल बढेको थियो । अवश्य निको हुन्छ भन्ने विश्वास थियो ।’ कोरोना भाइरसबाट संक्रमित बिरामीहरु भर्ना गर्न थालेदेखि लगभग सुनसान हुने गरेको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा आइतबार अपराह्न एकाएक चहलपहल भयो ।

कोरोना जितेका युवा भन्छन्- ‘आत्मबल नघटाउनुस्, अवश्य सन्चो हुन्छ’

कैलालीको लम्कीचुहा नगरपालिकाका २१ वर्षीय युवक कोरोना संक्रमण निको भएपछि घर फर्किन लागेका थिए । त्यसैको खुसी साट्न सुदूरपश्चिमका प्रदेशका मन्त्री, अस्पताल व्यवस्थापनका पदाधिकारी, स्वास्थ्यकर्मीलगायत जम्मा भएका थिए ।

अस्पतालमा उपचाररत ५ जना संक्रमितमध्ये उनी सबैभन्दा पहिले निको भएका हुन् । मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेसहितका स्वास्थ्यकर्मीको टोलीसँगै अग्लो कदका ती युवा अस्पतालबाहिर आए । ‘आत्मबल नघटाउनुस्, अवश्य सन्चो हुन्छ,’ डिस्चार्ज भएपछि एम्बुलेन्समा चढ्नुअघि ती युवाले भने, ‘सुरुका दिन अलिकति डर लागेको थियो । तर पछिपछि त आत्मबल बढेको थियो । अवश्य निको हुन्छ भन्ने विश्वास थियो ।’

१२ जनाको परिवार उनकै कमाइमा आश्रित थियो । आर्थिक रूपमा कमजोर परिवारको गुजारा चलाउन पाँच महिनाअघि भारतको मुम्बई गएका थिए । त्यहाँ होटलमा काम पाए । तर, दुई महिनामै कोरोनाको संक्रमण फैलिएपछि उनी फर्किएका थिए । कोरोना संक्रमण देखिएपछि १७ दिनअघि उनी सेती प्रादेशिक अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका हुन् । शनिबार उनको दोस्रो रिपोर्ट नेगेटिभ आयो । उपचारमा संलग्न चिकित्सकहरुले आइतबार पुन: जाँच गरे । तेस्रो रिपोर्ट पनि नेगेटिभ आएपछि अस्पतालले उनलाई डिस्चार्ज गरेको हो ।

उनी चैत ११ गते गौरिफन्टा नाका हुँदै घर पुगेका हुन् । त्यसै दिनदेखि प्रतापपुरको क्वारेन्टाइनमा बसेका थिए । त्यसै क्रममा काठमाडौं पठाइएको स्वाबको पीसीआर रिपोर्ट पोजेटिभ आएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । ‘त्यो दिन एकाएक गाउँको क्वारेन्टाइनमा एम्बुलेन्स आएर मलाई अस्पताल ल्याउँदा परिवार र छरछिमेकमा सबैलाई चिन्ता थियो,’ उनले भने ‘सन्चो भएर घर फर्किंदै छ भन्ने थाहा पाएर आज दिउँसैदेखि गाउँबाट सबैले फोन गरेर बधाइ छ भनिरहेका छन् । मलाई पनि निकै खुसी लागेको छ ।’

कोरोना संक्रमणका बिरामीहरु आउन थालेपछि मन्द अनुहारमा देखिने गरेका उपचारमा संलग्न चिकित्सकहरु पनि आइतबार उनलाई डिस्चार्ज गर्ने बेला खुसी देखिन्थे । उपचारमा संलग्न डा. शेरबहादुर कमर, डा. जगदीश जोशी, मेडिकल सुपरिटेन्डेन्ट पाण्डे, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दुर्गा जोशीलगायत सबैले उनलाई बधाइ दिए ।

सुदूरपश्चिममा सुरुमा देखिएका संक्रमित अस्पताल भर्ना भएको आइतबार २७ दिन भयो । दुबईबाट आएका धनगढीका ३४ वर्षीय ती युवाले पनि ढिलै भए पनि सन्चो भएर घर फर्किनेमा ढुक्क रहेको बताए । ‘मलाई अहिलेसम्म कुनै असजिलो भएको छैन । अस्पतालमा लामो समय बस्न दिक्क लागे पनि सन्चो भएर चाँडै घर फर्किन्छु भन्नेमा विश्वस्त छु,’ उनले टेलिफोनमा भने । लम्कीका युवा सन्चो भएर घर फर्किएपछि वार्डमा रहेका अरू सबै बिरामी पनि उत्साहित भएको उनले बताए ।

अब यो अस्पतालमा संक्रमण पुष्टि भएका दुई पुरुष र दुई महिला छन् । उनीहरुमध्ये एक पुरुष कञ्चनपुर बेतकोटका हुन् । अरू तीन जनामध्ये दुई धनगढीका एकै परिवारका देवर–भाउजू हुन् । अर्की ६५ वर्षीया महिला लम्कीकै हुन् । उनी वीरगन्जबाट आएकी थिइन् । संक्रमणको आशंकामा अन्य तीन जना पनि सेतीको आइसोलेसनमा राखिएका छन् ।


प्रकाशित : वैशाख ७, २०७७ १७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?