३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

भारतीय क्‍वारेन्टाइनमा किरिया बसेको ६ दिनपछि नेपाल आए वासुदेव 

मनोज बडु

काठमाडौँ — लकडाउनका कारण आमा बित्दासमेत नेपाल आउन नपाएका दार्चुलाका युवा वासुदेव भट्ट किरिया बसेको छैटौं दिन आइतबार दिउँसो नेपाल आएका छन् ।

भारतीय क्‍वारेन्टाइनमा किरिया बसेको ६ दिनपछि नेपाल आए वासुदेव 

भारतीय सीमाको धारचुला बालुवाकोट महाविद्यालयको क्वारेन्टाइनमा नै उनी किरिया बसेका थिए ।

सीमा बन्द भएको पाँच दिनपछि सीमामा आइपुगेका भट्टकी आमाको शैल्यशिखर नगरपालिका १ मा मंगलबार निधन भएको थियो । आमाको मृत्युको खबर पाएदेखि उनले घर आउन निकै प्रयास गरेका थिए । तर, भारतीय पक्षले प्रक्रिया पुर्‍याउनु पर्ने भन्दै समय लगाएको थियो ।

‘हामीले उनलाई ल्याउन ताकेता गरिरहेका थियौं । भारततिरको प्रक्रिया लामो भएकाले समय लाग्यो,’ दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले कान्तिपुरलाई भने । अहिले भट्टलाई स्वास्थ्य परीक्षणका लागि जिल्ला अस्पताल लगिएको छ । ‘स्वास्थ्य परीक्षणपछि उनलाई सुरक्षाका साथ घर पुर्‍याउँछौं,’ पौडेलले भने ।

उनी क्वारेन्टाइनमै क्रिया बसेकाे समाचार सार्वजनिक भएपछि गृह मन्त्रालयले उनलाई ल्याउने व्यवस्था मिलाउन दार्चुला प्रशासनलाई निर्देशन दिएको थियो । तर, भारतीय पक्षले प्रदेश राजधानी देहरादुन हुँदै दिल्लीबाटै अनुमति चाहिने भन्दै रोकेर राखेको थियो ।

तस्बिर : जिप्रका दार्चुला

प्रकाशित : वैशाख ७, २०७७ १५:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?