कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

भारतमै कोरामा बसेका युवालाई शुक्रबार ल्याइन्छ: दार्चुला प्रजिअ

मनोज बडु

दार्चुला — सीमा बन्द भएका कारण आमाको क्रिया गर्न नेपाल आउन नपाएका वासुदेव भट्टलाई भोलि शुक्रबार नेपाल ल्याइने भएको छ। सीमामा आइपुगेर पनि नेपाल आउन नपाएपछि भारतको धारचुलामै क्वारेन्टाइनमा कोरा बसेका शैल्यशिखर नगरपालिका १ का भट्टलाई ल्याउने व्यवस्था मिलाउन बिहीबार गृह मन्त्रालयले दार्चुला प्रशासनलाई निर्देशन दिएको थियो । 

भारतमै कोरामा बसेका युवालाई शुक्रबार ल्याइन्छ: दार्चुला प्रजिअ

दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले उनलाई ल्याउने प्रक्रिया सुरु भइसकेको तर भारतीय पक्षले प्रक्रियालाई समय लगाएकाले बिहीबारै ल्याउन संभव नभएको बताए । उनले कान्तिपुरलाई भने, 'मानवीय संवेदनाका कारण पनि हामी उनलाई ल्याउने तयारीमा छौं । भारतीय पक्षलाई हिजै पत्र पठाइसकेको छु । आज पनि कुरा गरेको थिएँ । उनीहरुले माथिल्लो निकायबाट अनुमति लिनुपर्ने भएकाले आज संभव भएन । भोलि उनी नेपाल आउँछन् ।'

पौडेलले उनलाई ल्याएपछि स्वास्थ्य जाँचलगायतका अन्य प्रक्रियाको पनि तयारी गरिएको बताए ।

हिउँदमा मजदुरी गर्न गएका भट्ट सीमा बन्द भएको पाँच दिनपछि धारचुला आइपुगेका थिए । बलुवाकोटको महाविद्यालयमा क्वारेन्टाइनमा बसिरहेका थिए । मंगलबार उनकी आमाको निधन भएको हो । यो खबर पाएपछि उनले नेपाल आउने निकै प्रयास गरे पनि सफल नभएपछि बुधबारदेखि क्वारेन्टाइनमै उनी कोरा बसेका छन् ।

आफ्नो पहुँच भएका सबै निकायमा बासुदेवलाई स्वदेश ल्याउन पहल भइरहेकाले दोस्रो दिनसम्म आमाको अन्तिम संस्कार रोकेएको थियो । दोस्रो दिन पनि आउने छाँट नदेखिएपछि बाध्य भएर दाहसंस्कार गरिएको बासुदेवका आफन्त प्रकाश भट्टले बताए ।

'आजसम्म बासुदेवका लागि भनेर रोकेका थियौ‌ं,' उनले भने, 'नआउने देखिएपछि त्यउपानी गर्नेहरुले खाना खाए ।' अझै पनि बासुदेव घर फर्कने अवस्था नदेखिएको उनको भनाई छ ।

क्वारेन्टाईन स्थलमै उनलाई कोरामा बस्नका लागि अलग कोठाको व्यवस्था गरेको भए पनि खानाको धेरै समस्या हुने गरेको छ ।

प्रकाशित : वैशाख ४, २०७७ २०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?