कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कतै राहत वितरण, कतै सस्तो खाद्य पसल

डीआर पन्त

डडेलधुरा — धनगढीको मारवाडी सेवा समितिले डडेलधुराको आलीतालमा १ सय ३५ विपन्न परिवारलाई राहत वितरण गरेको छ । समितिले प्रति परिवार २५ किलो चामल, २५ किलो पीठो, दुई किलो दाल र एक किलो नुन बाँडेको हो । 

कतै राहत वितरण, कतै सस्तो खाद्य पसल

डडेलधुराको भागेश्वर गाउँपालिकाले १५ प्रतिशत छुटमा सबै वडामा विपन्न परिवारलाई खाद्यान्न बिक्री वितरण गरिरहेको छ । गाउँपालिकाले ५ वटै वडामा स्थानीय व्यावसायी मार्फत खाद्यान्न, नुन, तेल सावुनलगायतका वस्तु उपलब्ध गराउन थालेको तीन दिन भएको छ । यसअघि अजयमेरु, नगदुर्गा र अमरगढी नगरपालिका वडा ३ ले पनि सहज रुपमा गाउँगाउँमा खाद्यान्न उपलब्ध गराउन सुरु गरिसकेको छ ।

कोरोना भाइरसबाट संक्रमित हुनेहरु बढ्दै जाँदा गाउँ–गाउँमा गरिब र विपन्न परिवारलाई भन्दै राहत बाँड्नेको पनि ओइरो लाग्न थालेको छ । हरेक दिन स्थानीय तह मार्फत विभिन्न व्यक्ति, गैरसरकारी संस्था, सरकारी निकायसहित राहत वितरण गर्नेको संख्या पनि ह्वात्तै बढेको देखिएको छ । कतै राहत बाँड्न थालिएको छ भने कतै स्थानीय तहले १५ देखि २५ प्रतिशत छुटमा गाउँ–गाउँमा खाद्यान्न बिक्री गरिरहेका छन ।

विभिन्न गैरसरकारी संघ संस्थाले राहत भन्दा पनि प्रचार प्रसारको लालसा राखी स्थानीय तहलाइ प्रयोग गरि राहत वितरण गरिरहेको पनि देखिएको छ । लामो समयदेखि सामाजिक विकासका नाममा खाइपाइ आएका डडेलधुराका धेरै गैर सरकारी संस्थाहरुले राहतमा कम प्रचारमा बढी खर्च गरेको पनि भेटिएको छ ।

अहिले नै खाद्यान्न संकट नआएपनि यसरी राहत र खाद्यान्न वितरण गर्नेको संख्या हरेक दिन बढ्न थालेको छ । सामाजिक संञ्जालमा पनि नयाँ वर्षको शुभकामना भन्दा विभिन्न व्यक्ति, संघसंस्था र स्थानीय तहले राहत बाँडेका पोष्ट बढी छन । ५ किलो चामल , २ किलो दाल, दुइ दर्जन साबुनदेखि सयौं क्वीन्टलसम्म खाद्यान्न वितरणका फोटोले सामाजिक सञ्जाल भरिएका छन । डडेलधुरामा मात्र नयाँ वर्ष सुरु भएयता विभिन्न स्थानीय तहमार्फत यसरी ७ सय क्वीन्टल भन्दा बढी खाद्यान्न वितरण भएको छ ।

‘तत्काल राहत भन्दा पनि सुपथ मूल्यमा गाउँ–गाउँमा खाद्यान्न र उपभोग्य वस्तु पुगाउनु आवश्यक रहेको छ’ भागेश्वर गाउँपालिका प्रमुख कौशीला भट्टले भनिन, ‘ग्रामिण क्षेत्रमा दैनिक उपभोग्य वस्तुको अभाव सिर्जना सुरु भइसकेका कारण सुपथ मूल्यमा उपलब्ध गराउन गाउँपालिकाले काम सुरु गरेको हो ।’

यातायात संचालन छैन, ग्रामिण क्षेत्रमा दैनिक उपभोग्य वस्तुमा भारी मूल्यबृद्धि सुरु हुन थालेको छ यसलाइ हेर्दै सहज र सुपथ मूल्यमा सर्वसाधारणले सबै उपभोग्य वस्तु पाउन सकुन पनि व्यावसायी मार्फत गाउँ–गाउँमा खाद्यान्न वितरण हुन थालेको पनि उनले जनाए । ‘दैनिक ज्याला मजदुरी गरेर खाने वर्गका लागि सरकारी तबरबाट दिइने राहत बाँड्न अझै सुरु गरिएको छैन’ उनले भनिन, ‘अहिले नै खाद्यान्न संकट उत्पन्न भएको छैन केही समय पछि राहतका रुपमा खाद्यान्न र उपभोग्य वस्तु वितरण गरिने छ ।’

प्रदेश सरकार र स्थानीय तहले विपन्न र गरिबलाई राहत बितरणका लागि बेग्लाबेग्लै प्याकेजको घोषणा समेत गरिसकेका छन । तर अहिलेसम्म यसरी घोषणा भएका प्याकेजको राहत भने गाउँसम्म पुग्न सकेको छैन । जनप्रतिनिधिहरुले राहत कसलाइ दिने भन्ने सूची तयार गरिरहेको र त्यस पछि मात्र राहत बितरण गरिने जानकारी पनि दिएका छन ।

प्रकाशित : वैशाख ३, २०७७ १८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?