दार्चुलामा स्वाब संकलन सुरु 

मनोज बडू

दार्चुला — दार्चुला जिल्लामा क्‍वारेन्टाइनमा बसेकाहरुको थ्रोट स्वाब संकलन सुरु गरिएको छ । शनिबार बिहानबाट जिल्लाका ६ ठाउँबाट स्वाब संकलन गर्न लागिएको छ । भारत लगायत विदेशबाट आएका करिब साढे ५ सय बढी जनाको स्वाब संकलन गरिने जिल्ला प्रशासनले जनाएको छ ।

दार्चुलामा स्वाब संकलन सुरु 

कोरोना परीक्षणका लागि क्‍वारेन्टाइनमा बसेका नागरिकको थ्रोट स्वाब संकलनका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत स्वास्थ्यकर्मीको टोली दार्चुला पुगेर संकलनको काम सुरु गरिएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए ।


बिहानैबाट जिल्लाका ६ वटै ठाउँमा तयारी गरिएको र दिउँसोबाट स्वाब संकलन सुरु भएको छ । दुई हेलिकप्टरमार्फत स्वास्थ्यकर्मी र किट जिल्ला पुगेका छन् । जिल्लाका ९ वटै स्थानीय तहहरुलाई पायक पर्ने ६ स्थानबाट स्वाब संकलन हुन लागेको प्रजिअ पौडेलको भनाइ छ । शैल्यशिखरको गोकुलेश्वरमा शैल्यशिखर नगरपालिका, मालिकार्जुन र लेकम गाउँपालिकाका स्थानीयको स्वाब संकलन गरिने छ ।


त्यस्तै, मार्मा गाउँपालिकाको लटिनाथमा अपीहिमाल र मार्मा गाउँपालिकाका, नौगाड गाउँपालिकाको दल्लेक, दुहु गाउँपालिकाको हिकिला र व्यास गाउँपालिकाको हुतीमा स्वाब संकलन भइरहेको छ ।


महाकाली नदीमार्फत पौडी खेलेर, तुइन तथा ट्युब तरेर समेत मजदुरहरु घर फर्किएका छन् । जिल्ला प्रशासन कार्यालय दार्चुलाका अनुसार भारतलगायत ठाउँबाट दार्चुलामा १४ सय सात जना भित्रिएको तथ्यांक छ । तर नदीबाट अवैध रुपमा भित्रिएका व्यक्तिको तथ्यांक भने यसमा समेटिएका छैन । जिल्लामा शुक्रबारसम्म २८० जना क्‍वारेन्टाइनमा बसेको तथ्यांक छ ।

प्रकाशित : चैत्र २९, २०७६ १५:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?