कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

कोरोना संक्रमितको सम्पर्कमा रहेका ४२ जनाको पहिचान

अर्जुन शाह

धनगढी — सुदूरपश्चिममा देखिएका चार जना कोरोना भाइरस संक्रमितको प्रत्यक्ष सम्पर्कमा रहेकाको ‘कन्ट्याक्ट ट्रेसिङ’ कार्य सम्पन्न भएको छ । ४२ जनाको पहिचान गरी उनीहरुमध्ये धेरैको स्वाब परीक्षण गरिएको र कतिपयलाई निगरानीमै राखिएको संलग्न स्वास्थ्यकर्मीले बताएका छन् ।

संक्रमितमध्ये कैलालीका तीन र कञ्चनपुरका एक जना हुन् । ती मध्ये एकै परिवारका दुई जना रहेका छन् । प्रदेश स्तरमा स्वास्थ्यकर्मीहरुको दुई वटा समिति परिचालित छन् ।


पहिलो केस इन्भेस्टिगेसन समिति र दोस्रो कन्ट्याक्ट ट्रेसिङ । कुनै पनि व्यक्ति पोजेटिभ देखिने वित्तिकै केस इन्भेस्टिगेसनका प्रतिनिधिहरुले संक्रमितको विस्तृत विवरण संकलन गर्छन् । ‘विश्व स्वास्थ्य संगठनले बनाएको मापदण्ड अनुसार संक्रमितको सबै विवरण लिन्छौं,’ त्यस कार्यमा खटिएका जनस्वास्थ्य निरीक्षक भुपेन्द्र महराले भने, ‘उसको ट्राभेल हिस्ट्रि, सम्पर्क भएको स्थान र व्यक्तिहरु सबै रेकर्ड संकलन हुन्छ ।’


केस इन्भेस्टिगेसन फर्मकै आधारमा कन्ट्याक्ट ट्रेसिङ सुरु हुन्छ । ६ जना स्वास्थ्यकर्मीको समूह यस कार्यमा खटिएको छ । ‘केस इन्भेस्टिगेशनमा आएको सूचनाका आधारमा सम्बन्धित सबै व्यक्ति र स्थानसम्म पुग्छौं र उनीहरुको परीक्षण लगायतका कामहरु अघि बढाउछौं’ यस कार्यको नेतृत्व गरिरहेका भेक्टर कन्ट्रोल निरीक्षक हेमराज जोशीले भने, ‘शनिबार पहिचान भएका कैलालीका संक्रमित व्यक्ति गौरिफन्टा नाकामा ९९९ जनाको भीडमा थिए । त्यसमा अप्ठेरो छ । तर उनी घर गएको र क्वारेन्टाइनमा बसेको सबै विवरण र उनीहरुको नमुना परीक्षण प्रकृया सुरु भएको छ ।’ उनले संक्रमितको प्रत्यक्ष सम्पर्कमा आएका ४२ जनाको कन्ट्याक्ट ट्र्रेसिङ कार्य पुरा भएको बताए ।


सुदूरपश्चिम कोरोना संक्रमणको उच्च जोखिममा भएसँगै यहाँ देखिएका संक्रमितहरुको सम्पर्कमा गएकाहरुको चाँडोभन्दा चाँडो ल्याब परीक्षण गर्नुपर्ने आवश्यकता रहेको स्वास्थ्यकर्मीहरु औल्याउँछन् । त्यसैमा स्थानीय स्तरमै एकबाट अर्कोमा सरको पहिलो केस फेला परिसकेकाले जोखिम बढेको हो । आशंका निरुपण गर्न धेरैेभन्दा धेरैको नमुना परीक्षण गर्नुपर्ने आवश्यकता रहेको उनीहरुको भनाई छ ।

प्रकाशित : चैत्र २६, २०७६ १८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?