कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

गोली लागेर मृत्यु भएकी युवतीको दुई दिनसम्म पनि पोस्टमार्टम भएन

मोहन शाही

डोटी — गोली लागि मृत्यु भएकी युवतीको पोस्टमार्टम गर्न चिकित्सकहरूले अस्वीकार गरेका छन् । गोली लागेर मृत्यु भएकी अनिता नाथको दुई दिनसम्म पनि पोस्टमार्टम हुन नसकेको हो ।

जोरायल गाउपालिका- ४ देउथला की २० वर्षीया अनिताको पोस्टमार्टम नहुँदा पीडित परिवारका आफन्त सदरमुकाममै बस्नुपरेको छ । आइतबार घरभित्र भरुवा बन्दुकको गोली लागि मृत्यु भएकी अनिताको शव सोमबार साँझ पोस्टमार्टमका लागि डोटी अस्पताल सिलगढी ल्याइएको थियो ।

अस्पतालमा कार्यरत चारजना चिकित्सक भए पनि तालिम नलिएको भन्दै उनीहरूले पोस्टमार्टम गर्न नमानेका हुन् । ‘पोस्टमार्टमका लागि डाक्टरले न्यूनतम १५ दिनको तालिम लिएको हुनुपर्छ, उहाँहरूले त्यही प्राविधिक कारण देखाउनु भएको छ’, प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले भने, ‘प्रहरीलाई त्यही लिखित जानकारी दिएर पोस्टमार्टमका लागि बाहिर लैजान भनिएको छ ।’

यसबारे चिकित्सकहरू भने सम्पर्कमा आउन चाहेनन् ।

सदरमुकामबाट घर टाढा रहेकाले आफूहरूलाई अलपत्र पार्ने काम भएको मृतकका ससुरा नाता पर्ने पूरन भारतीले बताए । ‘हिजो पौने ८ बजे शव ल्याइपुर्‍याएका थियौं, हामीलाई ८ बजे ल्याउन भनियो’, भारतीले भने, ‘बिहान आउँदा डाक्टरले पोस्टमार्टम गर्दैनौं, बाहिर लग्नुस भनेर जवाफ दिनुभयो ।’ ९ जना भएर सदरमुकाममा उनीहरूले खानेबस्नसमेत गाह्रो भएको उनले बताए ।

प्रहरीले मृतकका श्रीमान् खडक बन र ससुरा सुरज वनलाई पक्राउ गरेको छ । घरमा श्रीमान्-श्रीमतीमात्र रहेका बेला घटना भएकाले उनको हत्या भएको हुनसक्ने आशंका गरिएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख एसपी दिलीपसिंह देउवाले घटनाको छानबिनपछि मात्र विस्तृत विवरण आउने बताए ।

चिकित्सकले नै पोस्टमार्टम गर्न नसक्ने जानकारी लेखेर दिएपछि मृतकका आफन्तलाई सोही कुरा बताएको देउवाले जानकारी दिए । अनिताको गत फागुन २९ गते खडकसँग प्रेम विवाह भएको थियो ।

प्रकाशित : चैत्र २६, २०७६ ०७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?