नेपाल आगमन नरोकिएपछि महाकालीका घाटमा प्रहरी परिचालन

तृप्ति शाही

बैतडी — सीमा नाका बन्द भएको अवस्थामा पनि ट्युबमार्फत महाकाली नदीबाट नेपालीहरु घर फर्किन थालेपछि जिल्ला प्रशासन कार्यालयले महाकालीका विभिन्न घाटमा सशस्त्र प्रहरी परिचालन गरेको छ।

ट्युबबाट अवैध रुपमा नेपाल आउनेहरुलाई रोक्नका सशस्त्र प्रहरी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताए।

दशरथचन्द नगरपालिकाको महाकाली नजिकै बाराकोटमा, शिवनाथ गाउँपालिकाको कुस्मौतघाट र नागार्जुन घाट हेर्ने गरी प्रहरी परिचालन भएको सशस्त्र प्रहरीका प्रमुख डीएसपी अमित सिंहले बताए। यस्तै पञ्चेश्वरको ढोया र रोलघाट हेर्ने र पञ्चेश्वरकै विनायक घाट हेर्ने गरी थप टोली खटिएका छन्। सबै ठाउँमा ५० जना खटिएका उनले जानकारी दिए।

यस्तै, लकडाउनमा अत्यावश्यक कामका लागि बैतडीमा जिल्ला प्रशासन कार्यालयले दिँदै आएको सवारी पास बन्द गरिएको छ। आइतबारबाट लागू हुने गरी अत्यावश्यक सेवाका लागि यसअघि प्रशासन कार्यालयले दिँदै आएका सवारी पास रोकिएको हो।

खाद्यान्न, तरकारी, औषधि, ग्यास तथा फलफूल पसल पनि दिनमा दुई पटक मात्रै खोल्न पाउने र सामाजिक दुरी कायम गरेर मात्रै बेचबिखन गर्न प्रशासनले भनेको छ। बिहान ७ बजेदेखि ९ र अपराह्न ४ बजेदेखि ६ बजे सम्ममात्रै अत्यावश्यक पसलहरु खोल्न पाइने आदेशमा उल्लेख गरिएको छ।

लकडाउनको अवधिभर अन्तरपालिका तथा जिल्लामा हुने आवागमनलाई पूर्ण रोक लगाइएको पनि जनाइएको छ।

प्रकाशित : चैत्र २५, २०७६ १५:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?