कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

लकडाउनमा गहुँ भित्राउन किसानलाई सकस 

मोहन बुढाऐर

धनगढी — धनगढी उपमहानगरपालिका–५ का चैतुराम चौधरीले कृषि मजदुर नपाएर गहुँबाली भित्राउन ढिलो शुरु गरेका छन् । लकडाउनले कृषि मजदुर नपाएकाले एक बिघामा लगाएको गहुँ खेतमैं झर्न थालेको थियो ।   

लकडाउनमा गहुँ भित्राउन किसानलाई सकस 

लकडाउन अझै लम्बिने देखेपछि सोमबार बिहानदेखि उनी परिवारका सदस्यका साथ हसियाँसहित खेतमा निस्केका छन् । ‘गहुँबाली पाकेर खेतमै झर्ने अवस्था आयो’ उनले भने, ‘जहिल्यै मजदुर लगाएर गहुँ काटिन्थ्यो । यो चर्को घाममा यसमा हामी आफै खेतमा निस्केका छौ ।’


स्थानीय प्रशासनले कृषि मजदुरलाई खेतमा काम गर्न छुट दिनु पर्ने उनी बताउँछन् । खेतमा काम गर्न निस्कने किसानलाई आउन/जान पनि दिनु पर्ने उनको धारणा छ । ‘ कृषि मजदुरलाई लकडाउनमा खेतमा काम पाईन्छ की पाईदैंन थाहा छैन’ उनले भने, ‘विदेश नगएका कृषि मजदुरले काम गर्न पाए लकडाउनको कारण उनीहरुको रोजगारी पनि नमर्ने र दुरी कायम गरेर काम गर्न/गराउन सकिन्छ ।’


उनले बाली काटेपछि थ्रेसर पाईने हो/हैन् भन्ने अर्को चिन्ता रहेको बताए । ‘आफ्नै थ्रेसर छैन’ उनले भने, ‘थ्रेसरवाला लकडाउनमा आउन मानेका छैनन् ।’ त्यस्तै, कैलाली गाउँका अर्का किसान देवनारायण चौधरीको अवस्था पनि उस्तै छ । उनले लकडाउनको कारण गहुँबाली भित्राउनमा सास्ती भोक्नु परेको बताए ।

‘साना किसानलाई धेरै समस्या नहोला ?’ चौधरीले भने, ‘१०/१२ बिघामा गहुँबाली लगाएकालाई बढी समस्या छ । अझ एक्लो परिवारलाई त गहुँ भित्राउनै मुश्किल हुन्छ ।’ उनले ‘कम्वाईन’ र थ्रेसर भएका किसानले पनि डिजल पाउन नसकेको गुनासो गरिरहेका छन् । ‘उनीहरुले चलाउन अनुमती नपाएको जस्तो समस्या राखेका छन’ उनले भने ।

कैलालीमा पछिल्लो समयमा गहुँबालीका लागि आधुनिक कृषि प्रविधि ‘कम्वाईन’ को प्रयोग बढेको छ । ‘कम्वाईन’ औजारले एक बिघामा लगाएको गहुँ एक घन्टामैं भण्डारण गर्नर् ेगरी तयार पारी दिने गर्छ । कम्वाईनले खेतमै काट्ने, धुलाई र सफा गर्ने गर्छ । अहिले ठूला साना प्रायः सबे किसानले कम्वाईन लगाएर केही घन्टामै खेतको गहुँबालीको भण्डारण गर्ने चलन बढेको थापापुरका गंगा चौधरीले बताए ।

कैलाली जिल्लामा ४० हजार हेक्टरमा लगाएको गहुँबाली पाकी सकेकोले किसानलाई समयमै भित्राउन लकडाउन खुकुलो पार्नु पर्ने धारणा सरोकारवाला मन्त्रालयको पनि छ । ‘किसानलाई आफ्नो खेतमा काम गर्न लकडाउनले रोकेको जस्तो लाग्दैंन’ प्रदेश कृषि मन्त्रालयका खगेन्द्रप्रसाद शर्माले भने, ‘तर कृषि सवारी साधन सञ्चालन, डिजलको उपलब्धता र कृषि मजदुरलाई समेत खेतमा काम गर्न आउजाउमा सुविधाका कहि कतै समस्या आएको हुनु पर्छ । त्यो स्थानीय प्रशासन र स्थानीय तहसंग समुन्वय गरी किसान आफैले पनि समाधान खोज्न सक्छन् । ’


प्रमुख जिल्ला अधिकारी यंज्ञराज बोहराले किसानलाई आफ्नै खेतबारीमा काम गर्नेलाई लकडाउनको असर नपर्ने बताए । ‘कुनै किसानले थ्रेसर र अन्य कृषि औजारको प्रयोगका लागि डिजल पाउँछन’ उनले भने, ‘ पेट्रोल पम्पमा डिजल जति पनि छ ।’ उनले कृषि प्रयोगका लागि चल्ने सवारीसाधनमा कुनै प्रकारको रोक पनि नलगाएको बताए ।

प्रकाशित : चैत्र २४, २०७६ १७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?