संक्रमित युवकसँगै आएका थिए हजार जना

प्रशासनले उनीहरूलाई क्वारेन्टाइनमा बस्न भने पनि निगरानी गरिएकाे छैन
मोहन बुढाऐर

धनगढी — लम्कीका एक युवकमा कोरोना पुष्टि भएसँगै उनीसँगै नेपाल पसेका अन्य व्यक्तिमा पनि संक्रमणको जोखिम बढेको छ । कैलाली प्रशासनले उनीहरू सबैलाई क्वारेन्टाइनमा बस्ने सर्तमा भित्रिन दिए पनि निगरानी गरिएको छैन ।

संक्रमित युवकसँगै आएका थिए हजार जना

गौरीफन्टाबाट चैत ११ गते प्रवेश गरेका युवक नाकामा २८ घण्टाजति करिब एक हजारको भीडमा हेलमेल भएका थिए । भारतसँगका सबै नाका बन्द गरिएपछि १० गते साँझ सयौं नेपाली गौरीफन्टा आइपुगेका थिए । उनीहरूले स्वदेश प्रवेशको माग राख्दै नाराबाजी गरेका थिए । मुम्बईबाट आएका ती युवक पनि त्यही भीडमा थिए ।

तीव्र दबाबपछि गृह मन्त्रालयको आदेशमा स्थानीय प्रशासनले १०४३ जनालाई प्रवेश गर्न दिएको थियो । त्यहाँ उनीहरूको ज्वरो जाँचेर क्वारेन्टाइनमा बस्ने सर्तमा सम्बन्धित जिल्ला तथा स्थानीय तहमा पुर्‍याउने व्यवस्था मिलाइएको थियो ।

मुम्बईबाट ती युवक चढेको बसमा अन्य २२ यात्री रहेको खुलेको छ । प्रजिअ यज्ञराज बोहराले ती युवक क्वारेन्टाइनमा बसेको र त्यहीँबाट स्वाबको नमुना लिइएकाले भयभीत हुनुपर्ने अवस्था नरहेको बताए ।

धनगढीका सिद्धराज भट्ट भने भारतबाट फर्केका नेपालीहरू क्वारेन्टाइनमा नबसी घर गएको सुनिएको बताउँछन् । ‘लम्कीका युवक २८ घण्टा गौरीफन्टामा रोकिएका हजारभन्दा बढी नेपालीको भीडमा थिए भन्ने छ । ती मान्छे को कहाँ गए विवरण निकाल्नुपर्छ । क्वारेन्टाइनमा बसेका छन्/छैनन्, खोजी गर्नुपर्छ ।’

जिल्ला प्रशासनका सूचना अधिकारी शिवराज जोशीले भने जिल्लाका सबै पालिकालाई बाहिरबाट आएका सदस्यको विवरण संकलन गर्न परिपत्र जारी गरिसकिएको बताए ।

सुदूरपश्चिमको प्रमुख सहर धनगढीमा पहिलो कोरोना संक्रमित फेला नपर्दा सम्म लकडाउनको पूर्ण पालना भएको थिएन । उपत्यकाबाहिरकै पहिलो कोरोना पोजिटिभ यहीँ भेटिएपछि भने स्थानीय झस्किए । शनिबार ती व्यक्तिबाट उनकी आफन्तमा पनि सरेको पुष्टि भएको छ । यसले नेपालमा कोरोना संक्रमणलाई ‘दोस्रो चरण’मा पुर्‍याएको छ । शनिबारै लम्कीसहित कञ्चनपुरका एक व्यक्तिमा पनि संक्रमण पुष्टि भयो ।

यी तीन केसपछि लकडाउन उल्लंघन गर्नेहरू आफसेआफ पालना गर्न थालेका छन् । स्थानीय बासिन्दा घरबाहिर निस्कन छाडेका छन् ।

‘प्रशासन कर्फ्यु लगाउने सोचमा पुग्दै थियो,’ प्रजिअ यज्ञराज बोहराले भने, ‘एक्कासि दिउँसो तीन जनामा कोरोना पोजिटिभको खबरले त्रासको बादल पुनः मडारियो, नगरवासी घरभित्र लुक्न पुगेका छन् ।’ अहिलेको अवस्थामा पनि लकडाउनलाई उल्लंघन गर्नेलाई कारबाही गरिने उनले बताए ।

आइतबार सडकमा कोही पनि देखिएको छैन । ‘निस्कने हिम्मत पनि कसैसँग बाँकी छैन,’ धनगढी उपमहानगरका लेखा अधिकृत लेखनाथ ओझाले भने, ‘अब कर्फ्यु स्वतः लागिसक्यो । निस्कनेलाई कारबाहीको दायरामा ल्याउनुपर्छ ।’

उपमहानगरले आइतबारदेखि खाद्यान्न पसलसमेत बन्द गर्ने भनी विज्ञप्ति जारी गरेको थियो । जिल्ला प्रशासनका सूचना अधिकारी जोशीले भने अत्यावश्यक सेवा र वस्तुका पसल बन्द नहुने प्रस्ट पारेका छन् । ‘तर सेवा लिने नाममा अनावश्यक काममा निस्कनेलाई कारबाही गरिनेछ,’ उनले भने ।

प्रकाशित : चैत्र २३, २०७६ १४:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?