धनगढीमा खाद्यान्न पसल तीन घण्टा खुल्ने
धनगढी — धनगढीमा खाद्यान्न लगायत अत्यावश्यक वस्तु र सेवाका पसल तीन घण्टा सञ्चालन गर्न दिइने भएको छ । धनगढी उपमहानगरपालिका, कैलाली उद्योग वाणिज्य संघ लगायत सरोकारवालाको शुक्रबारको बैठेकले लकडाउन अवधिमा बिहान तीन घण्टा पसल सञ्चालन गर्न दिने निर्णय गरेको हो ।
सामान किनमेलका लागि भने तीन फिटको दूरी कायम गरिने भनिएको छ ।
शनिबारदेखि लागू हुने गरी खाद्यान्न, तरकारी र दूग्धजन्य व्यवसायका पसल मात्रै बिहान ६ बजेदेखि ९ बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरेको संघले विज्ञप्ति मार्फत जनाएको छ ।
दैनिक उपभोग्य वस्तु होम डेलीभरी गर्न चाहने व्यवसायीहरुले भने स्थानीय तहसँग समन्वय गरी कारोबार गर्ने अनुमति दिएको छ । बैठकले मोटरसाइकल सञ्चालनमा पूर्णरुपमा रोक लगाउने निर्णय गरेको उपमहानगरले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराले लकडाउनलाई कसिलो बनाउन अत्यावश्यक वस्तु खरिदका नाममा साँझपख निस्कनेको क्रम बढेकोले होमडेलिभरी, घुम्ती पसल लगायत नयाँ उपाय खोजिने बताएका थिए ।
जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले सरोकार पक्षले सरोकारवालाको निर्णय स्थानीय प्रशासनमा आएपछि अध्ययन गरी लागु गर्न दिने/नदिने भन्ने विषयमा प्रशासनिक निर्णय हुने बताए ।
प्रकाशित : चैत्र २१, २०७६ २०:०५