१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

लकडाउनले डोटीमा तरकारी र दूध-दही अभाव

मोहन शाही

डोटी — कोरोना भाइरस(कोभिड–१९) को संक्रमण रोकथामका लागि लकडाउन सुरु भएपछि डोटीमा तरकारी र दूध–दहीको अभाव हुन थालेको छ । बाहिरबाट तरकारी भित्रिन छाडेपछि जिल्लामा अभाव हुन थालेको हो । 

लकडाउनले डोटीमा तरकारी र दूध-दही अभाव

डोटीका दिपायल, सिलगढी, राजपुरस्थित तरकारी पसलहरु रित्ता भएका छन् । डोटीमा धनगढी र डडेलधुराबाट तरकारी आयात गरिन्छ । ‘किसानहरु डरले घरबाट बाहिर नै निस्कदैनन्, बजारमा कस्ले ल्याइदिने,’ दिपायलस्थत देउवा तरकारी पसलका सञ्चालक लोकबहादुर देउवाले भने, ‘सरकारले तरकारीका गाडीहरु आउन दिएको भए पनि संक्रमण हुने डरले कोही ल्याउन तयार छैनन् ।’ टमाटर, प्याज, हरियो साग, धनिया, मूला, गाजरलगायतको अभाव छ ।


बजार छोडेर अधिकांश मानिसहरु गाउँ फर्केकाले पनि तरकारी कुहिने डरले धेरै राख्न नसकेको अनिल गुप्ताले बताए । ‘हप्तादिनपछि एउटा/दुइटा गाडी आउँछ’, गुप्ताले भने, ‘एकैचोटि धेरै राख्यो भने कुहिने डर छ त्यसैले पनि तरकारी पसल बन्द गर्ने अवस्थामा छौं ।’


तरकारी सस्तो र ताजा पाइने मौसम भए पनि कोरोनाका कारण चाख्नसमेत नपाइएको लोकराज पाठकले बताए । ‘बजारमा दूध–दही पनि पाइन छाड्यो’, उनले भने, ‘दूध पाइने पसलहरु पनि बन्द छन्, तरकारी पनि पाइँदैन ।’


चामल, दाल, नुन, तेललगायतका खाद्यान्नको भने अभाव नरहेको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए । उनले खाद्यान्नको कारोबार गर्ने व्यापारीहरुलाई पासको व्यवस्था गरिएकाले निर्वाध रुपमा तराईबाट आइरहेको जानकारी दिए । दिपायलमा खाद्यान्नका थोक बिक्रेता विक्रम साउदले अहिले नै पूर्णरुपमा आवतजावत बन्द भए पनि डोटीमा एक महिनासम्म खपत गर्न सकिने खाद्यान्न व्यापारीहरुसँग मौज्दात रहेको जानकारी दिए । उनले खाद्यान्नका लागि कसैले चिन्ता नगर्नसमेत आग्रह गरे ।

प्रकाशित : चैत्र २१, २०७६ ११:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?